PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

रियो ओलम्पिकमा सहभागीलाई एक वर्षपछि एनओसीको नगदसहित सम्मान



पहिलोपोस्ट

रियो ओलम्पिकमा सहभागीलाई एक वर्षपछि एनओसीको नगदसहित सम्मान

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान गर्दै सम्मान गरेका हुन्।

ब्राजिलको रियो दि जेनेरियोमा गत वर्ष अगष्ट ५ देखि २१ तारिखसम्म भएको ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई १ वर्ष भन्दा बढी (साढे १५ महिना) पछि सम्मान गरेको हो।

रियो-१६ ओलम्पिकमा नेपालबाट आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपूल्हामु खत्री, पौडीका शिरिष गुरुङ र गौरिका सिंह तथा तेक्वान्दोकी निशा रावलले सहभागीता जनाएका थिए।

परिवारसंगै लन्डनमा बस्दै आएकी गौरिका भने सम्मान कार्यक्रममा उपस्थित थिइनन्। बाँकी ६ खेलाडीले भने नगदसहित आइतबार सम्मान थापेका हुन्।

पौडीकी गौरिका सिंह रियो ओलम्पिकमा सहभागी मध्ये कान्छी खेलाडी बनेकी थिइन्। त्यतिबेला उनी १३ बर्षकी थिइन्। त्यसैगरी रियो ओलम्पिकमा जुडोकी फुपूले ओलम्पिकको उद्घाटन सत्रको मार्च पार्समा नेपाली झन्डा बोकेकि थिइन्।

रियो ओलम्पिकमा नेपालबाट ५ खेलका सात खेलाडीले सहभागिता जनाएकोमा २ खेलाडीले राष्ट्रिय कीर्तिमान बनाए।

महिला एथलेटिक्सको १५ सय मिटर दोडेकी सरस्वतीले आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसैगरी पौडीबाट शिरीषले पुरुष १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए। उनले ५७ दशमलव ७६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान रचेका थिए।

कान्छी खेलाडी बनेर विश्वमाझ चर्चा कमाउन सफल गौरिकाले महिला १ सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिइन्। तर उनले कीर्तिमान सुधार गर्न सकिनन्।

यसबाहेक आर्चरीको पुरुष व्यक्तिगततर्फ जितबहादुर मोक्तान, एथलेटिक्समा पुरुष ५ हजार मिटरमा हरि रिमालले प्रतिस्पर्धा गरेका थिए। यस्तै  जुडोतर्फ फुपूले महिला ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् भने महिला ६७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा तेक्वान्दो खेलाडी निशाले सातौं स्थान हात पारेकि थिइन्।

खेलाडीलाई सम्मान पछि अध्यक्ष श्रेष्ठले ‘ओलम्पिकमा सहभागीता जनाउनु गौरवको विषय भएको र रियो ओलम्पिकमा नेपालले आफूलाई विश्वमाझ चिनाउन समेत सफल भएको प्रतिक्रिया दिए।

श्रेष्ठले जापानमा हुने २०२० को ओलम्पिकका लागि बढी खेलाडीको सहभागिताका लागि खेलाडी तयार गर्न सुरु गरिहाल्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell