भक्तपुर : भक्तपुर क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
आइतबार राति करिब ८ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए।
खबर पाएपछि पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बम निष्क्रिय पारेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन्। रासस