
एक खेलाडी कम रहेर पनि गेटाफेले ला लिगामा दोस्रो स्थानको भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। यससँगै भ्यालेन्सियाको यस सिजन अपराजित यात्रा समेत टुङ्गिएको छ। यसले शीर्ष स्थानको बार्सिलोनालाई भने फाइदा पुगेको छ।
खेलको २५औँ मिनेटमा माउरो अरामबरी दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान बाहिरिएपछि गेटाफे दश खेलाडीमा झरेको थिए। उनले चार मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाए।
तर त्यसका बावजुत पनि गेटाफेले घरेलु मैदानमा विपक्षीलाई गोल गर्न दिएन र दोस्रो हाफमा आफैँ गोल गर्न सफल भयो। ६६औँ मिनेटमा मार्केल बेरगाराले गरेको गोल नै गेटाफेलाई ३ अंक दिलाउन पर्याप्त बन्यो।
यता सिजनको पहिलो हारपछि भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी कम पार्ने मौका गुमायो। १४ खेलबाट अपराजित रहदै ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ भने भ्यालेन्सिया ३१ अंकका साथ दोस्रो स्थानमा यथावत छ।
यता सिजनको पाँचौ जितपछि गेटाफे १९ अंक जोडेर रियल सोसिडाडलाई गोल अन्तरमा पछि पार्दै आठौँ स्थानमा उक्लेको छ।
ला लिगाकै अर्को खेलमा छैटौँ स्थानको भियारियाल लेगानेससँग ३-१ ले पराजित भएको छ।