![सर्लाही २ को रोचक भिडन्तः ‘एउटै पार्टीका तीन जना उम्मेदवार’](https://pahilopost.com/assets/upload/contentthumb/24726271_1930102527316794_635642471_o.png)
मलंगवा : सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहितको क्षेत्र रहेको सर्लाही २ मा रोचक प्रतिस्पर्धा हुँदैछ।
उक्त क्षेत्रमा तीन उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा टिकट वितरणअघि तीनै जना एउटै मधेशवादी पार्टीका थिए। तर, टिकट वितरणको केही दिनअघि मात्रै तीनै जना फरक-फरक पार्टीबाट उम्मेदवारी दिए।
क्षेत्र नम्बर दुईमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट जंगीलाल राय यादव र वाम गठबन्धनबाट दिनेश यादव चुनावी मैदानमा छन्।
जंगीलाल राजपाका महासचिव थिए। स्थानीय निकायको निर्वाचनमा उनका सम्धीलाई टिकट नदिएपछि राजपामा असन्तुष्ट थिए। सोही क्रममा स्थानीय निकायको निर्वाचनमा उनले राजपाका उम्मेदवारहरुलाई हराउन गतिविधि गरेको भन्दै कारबाहीमा परेका थिए।
राजपाबाट कारबाहीमा परेका यादव एमालेमा प्रवेश गर्न लागेका थिए। तर पछि हटे। माओवादी केन्द्रमा प्रवेशको पनि तयारी गरेका थिए। तर वाम गठबन्धनबाट चुनाव जित्न असम्भव रहेको आँकलन गरी उनी नेपाली कांग्रेस प्रवेश गरी प्रतिनिधिसभाको टिकट लिएका छन्।
त्यस्तै, राजपा सर्लाहीका अध्यक्ष मण्डलका सदस्य दिनेश यादव वाम गठबन्धनबाट सोही क्षेत्रमा उम्मेदवार बनेका छन्। उनी चुनावअघि राजपामा थिए तर प्रतिनिधिसभा उम्मेदवारमा टिकट पाउने सम्भावना नदेखेपछि उनी वाम गठबन्धनका उम्मेदवार बनेका छन्।
राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले यसअघि उक्त क्षेत्रबाट राजेन्द्र महतोलाई हराउँदै चुनाव जितेका थिए। अहिले पनि उनी उक्त क्षेत्रको शक्तिशाली उम्मेदवारका रुपमा दिएका छन्।
तीनमा वामलाई स्वतन्त्रको टक्कर
विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव चुनावअघि माओवादी केन्द्रमा प्रवेश गरे। उनी वाम गठबन्धनबाट अहिले सर्लाही क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।
दोस्रो संविधान सभाको निर्वाचनमा हारेका यादव अहिले शक्तिशाली उम्मेदवार देखिएका छन्। तर उनलाई राजपाबाट बागी भई उम्मेदवारी दर्ता गराएका नरेन्द्र साहले टक्कर दिएका छन्।
उक्त क्षेत्र फोरम नेपालको भागमा परेपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। फोरम नेपालबाट उक्त क्षेत्र अशोक सिंह कोइरीले टिकट पाएका छन्।
कांग्रेसले हरेश महतोलाई टिकट दिएको छ। कोइरी समुदायबाटै दुई जना उम्मेदवार भएकोले अशोक र हरेशको अवस्था कमजोर देखिएको छ।
वामका उम्मेदवार रामेश्वर र स्वतन्त्र उम्मेदवार साहबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।