
संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्।
जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उनले बताएका हुन्।
गुथ्रेसले केही दिनयतादेखि सशस्त्र द्वन्द्व जारीराखेका सबै पार्टीहरुलाई आग्रह गरेका उनका प्रवक्ता स्टेफेन डुजारिकले जानकारी दिए।
पछिल्लो समय यमनको राजधानी सानामा झडपहरु भएका छन्। ती झडपमा परी सर्वसाधारण र निहत्था नागरिकको ज्यान जाने गरेको छ।
सानामा पछिल्लो समय यहाँका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्त भएका छन्।
गतहप्ता सानामा भएको झडपमा विद्रोही र सरकारी बलका करिब ६० जनाको मृत्यु भएको थियो।
हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ। यमनमा अन्तरर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अबेद्रबु मन्सुर हादी छन्। उनको सरकारविरुद्ध हुथी विद्रोही समूह पनि सालेहको साझेदार रहिआएको छ।
पछिल्लो समय भएका ती झडपहरुका कारण एम्बुलेन्स र चिकित्सक पनि घाइते समक्ष पुग्न नसकेका र सर्वसाधारणले पनि आफनो आवश्यताअनुसार खाद्य सामाग्री तथा अन्य बस्तु किन्नको लागि बाहिर जान नसक्ने अवस्था रहेको छ।
त्यसैगरी सहयोगकर्ताहरु पनि निर्वाध रुपमा हिडडुल गर्न सक्ने अवस्था हाल यमनमा रहेको छैन। त्यसैले महासचिव गुथ्रेसले युद्धविरामका लागि आग्रह गरेका हुन्।
यमनमा तीन वर्ष अधि हुथी विद्रोही समूहले राजधानी साना कब्जा गरेका थिए। उनीहरुले पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेको समर्थनमा साना कब्जा गरेका हुन्।
सन् २०१५ देखि यमनको सहयोगका लागि भन्दै साउदी अरेबियाले विद्रोहीलक्षित हवाई आक्रमण सुरु गरेपछि हालसम्म ८ हजार ७५० भन्दा बढीको मृत्यु भईसकेको बताइएको छ।
यसैबीच, यमनका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहले पनि शान्ति वार्ताका लागि प्रस्ताव गरेका छन्। उनले शनिबार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्तागर्न प्रस्ताव गरेका थिए। प्रस्तावको साउदी अरेबियाले पनि स्वागत गरेको छ।
तर शान्ति वार्ताकै लागि अब के कसरी अघि बढ्ने भन्ने बारेमा एक दुई दिनमा महत्वपूर्ण निर्णय हुनसक्ने अधिकारीहरुले जानकारी दिएका छन्। रासस/एएफपी