काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालय भवनको आज अनामनगरमा शिलान्यास गरेकी छन्।
लामो समयदेखि बबरमहलमा रहेको कार्यालयको ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि सो स्थानमा नयाँ भवन निर्माण हुन लागेको हो।
१० रोपनी १३ आना जमिनमध्ये सात रोपनीमा अत्याधुनिक साततले भवन बन्नेछ। निजी निर्माण कम्पनी लुम्बिनी, गौरी पार्वती र शान्ति जेवीले आगामी तीन वर्षभित्र भवन निर्माण सम्पन्न गरी सक्ने गरी ठेक्का पाएका छन्।
जमिनमुनि दुई र जमिनमाथि पाँचलले भवन मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ५४ करोड ३२ लाख रुपैयाँमा निर्माण सम्पन्न हुनेछ।
भवन निर्माणको अनुगमन सहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ। निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न भएमा लाभांशको व्यवस्था रहेको छ।
भवन नेपाली मौलिक कलात्मक शैलीमा अपांगमैत्री, भूकम्प प्रतिरोधी तयार हुनेछ महालेखा परीक्षक कार्यालयले जनाएको छ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न महालेखा परीक्षकको कार्यालयले अझ ध्यान दिनुपर्ने बताइन्।रासस