
काठमाडौं : छिटो गतिमा हिँडेका कारणमात्र आफू बचेको गगन थापाले बताएका छन्। नेपाली कांग्रेसका युवा नेता थापामाथि आज वम आक्रमण भएको हो। 'भोट माग्न धेरैतिर भ्याउनुपर्ने भएकाले हतारमा छिटो हिँडेको थिएँ, थोरैमात्र गति रोकिएको भए जे पनि हुनसक्थ्यो,' थापाले घटनापछि पहिलोपोस्टलाई प्रतिक्रिया दिँदै भने, 'विस्फोट समय निर्धारण गरेर नै भएको हो।'
आज मध्यरातबाट मौन अवधि सुरु हुने भएकाले घरदैलो सक्नुपर्ने चटारो नेताहरुसँग छ। त्यसैले हिजैदेखि गगन म्याराथन शैलीमा चुनावी प्रचारमा थिए।
काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार गगन थापा विस्फोटबाट पूरै भने बच्न सकेनन्। उनको कान र ढाडमा चोट लागेको छ। '१० पाइलाजति पछाडि विस्फोट भएकाले बचेँ,' उनले भने। घटना लगत्तै थापालाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थापा घाइते भएका अन्यलाई भेट्न पुगेका थिए। विस्फोटमा परी दुई जना गम्भीर घाइते भएका छन्।