कैलाली : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले कैलालीको नदी कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि लागिपर्ने बताएकी छन्।
प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा राणाले यहाँका विकासका चुनौती र सम्भावना बुझेर नै आफू चुनावी मैदानमा होमिएको बताइन्।
कैलालीमा ऐलानी पर्ती जग्गामा दशकौंदेखि बसेका जनताले पूर्जा नपाएको उल्लेख गर्दै उनले भनिन्,‘गौरीफण्टा नाकाको स्तरबृद्धि, महिला सशक्तिकरण, सांस्कृतिक संग्रहलाय निर्माण, स्तरीय सडक विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलगायतका काम गर्नेछु।’
विगतका विकास निर्माणका कामलाई तीव्ररूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै राणाले आगामी निर्वाचन लोकतन्त्र र साम्यवादबीचको जनमतसंग्रह भएकाले मतदातासँग लोकतन्त्रको संस्थागत विकासका लागि भोट हाल्न आग्रह गरिन्।
उनले कैलालीमा कृषि क्षेत्रको आधुनिक र व्यावसायिकताका लागि रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गर्दै गदरियामा कृषि क्याम्पस स्थापना गर्न पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन्।
आफ्नै पहलमा सेती अञ्चल अस्पताललाई ३०० शैयाको बनाइ स्तरोन्नति गर्न लागिएको पनि उनले जानकारी दिइन्।रासस