PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु, उत्तर कोरियाद्वारा बिरोध 



पहिलोपोस्ट

दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु, उत्तर कोरियाद्वारा बिरोध 
फोटो श्रोत : france24.com

सोल :  दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको छ। सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको छ। 

सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै यस क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ। 

हवाई सैन्य अभ्यासको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको छ। उसले यसलाई आफ्ना विरुद्धको उत्तेजना बाहेक अरु केही नभएको बताएको छ। 

अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिब २३० वटा युद्धक विमानहरुको प्रयोग गरिएको छ। यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौँ स्थल सेना पनि रहेका छन्। 

यहाँ दशौँ हजारको संख्यामा दक्षिण कोरियाली सेना पनि अभ्यासमा सहभागी भइरहेका बताइएको छ। उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबार सैनिक अभ्यास सुरु भएको हो। 

केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो। क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास सुरु गरेका बताइएको छ। 

अभ्यासमा शक्तिशाली युद्धक विमानहरुको पनि प्रयोग भएको छ। ती विमानहरु दक्षिण कोरियाको आकासमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ। 

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ। उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गरिएको केही महिनामात्र अघि उनीहरुले जनाएका थिए। 

उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ। उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आफूले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ। 

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन। यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ। 

उत्तरले भने संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ। साथै यस सैन्य अभ्यास बन्द नगरे आफूहरु पनि त्यसको जवाफका लागि बाध्य हुनुपर्ने चेतावनी उसले दिएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell