PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

पर्सामा निर्वाचनका लागि ३२ सय कर्मचारी परिचालन, मध्यरातदेखि सीमा नाका बन्द हुने



राधेश्याम पटेल

पर्सामा निर्वाचनका लागि ३२ सय कर्मचारी परिचालन, मध्यरातदेखि सीमा नाका बन्द हुने

वीरगंज :  मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले आज विहानदेखि मतदान केन्द्रमा कर्मचारी खटाएको छ।

पर्साको क्षेत्र नम्बर १, २, ३ र ४ का १६७ मतदानस्थल(३५१ मतदान केन्द्र)मा कर्मचारी निर्वाचन सामग्रीसहित प्रस्थान गरेका हुन्।

मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले पर्सामा निर्वाचन सम्पन्न गराउन करिब ३२ सय कर्मचारी खटाइएको जानकारी दिए।

आज साँझसम्म पर्साका चार वटै निर्वाचन क्षेत्रमा मतदान अधिकृतको टोली पुग्ने उनले बताए । कमचारी मतपेटिका, मतपत्र, मतदाता परिचय पत्र, लाहा छाप, स्वस्तिक छाप, निर्देशिकालगायतका ६४ प्रकारका सामग्री लिएर गएका छन्।

कुन क्षेत्रमा कति उम्मेदवार ?

पर्सामा राजनीतिक दल र स्वतन्त्र गरी कुल १७६ जना उम्मेदवार रहेका छन्। प्रतिनिधिसभातर्फ पर्सा एकमा २२, दुईमा १५, तीनमा १४ र चारमा १३ गरी कुल ६४ उम्मेदवार छन्।

प्रदेशसभातर्फ एक(क)मा १०, एक(ख)मा १४, दुई(क)मा १४, दुई(ख)मा १८, तीन(क)मा ११, तीन(ख)मा १८, चार(क)मा १२ र चार(ख)मा १५ गरी १२२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुन क्षेत्रमा कति मतदाता ?

पर्सामा दुई लाख ८९ हजार ५४ मतदाता छन्। जसमा महिला १ लाख २४ हजार ४ सय ५, पुरुष १ लाख ६४ हजार ६ सय २९ जना र १६ जना तेस्रो लिंगी मतदाता छन्।

क्षेत्र नम्बर एकमा ६७ हजार ४०५, दुईमा ७३ हजार १२, तीनमा ७४ हजार १६६, चारमा ७४ हजार ४७१ जना मतदाता छन्।

क्षेत्र नम्बर एकको (क)मा ३२ हजार ५५९, एकको (ख)मा ३४ हजार ८४६, दुईको (क) मा ३५ हजार ६४४, दुईको (ख)मा ३७३६८, तीनको (क)मा ३६७८१, तीनको (ख) मा ३७३८५, चारको (क)मा ३५९७३ र चारको (ख)मा ३८४७८ मतदाता छन्।

मध्यरातदेखि सीमा बन्द

यसैबीच, निर्वाचनमा आपराधिक गतिविधि हुन नदिन आज मध्यरातदेखि सीमा नाका बन्द हुने भएको छ । गृह मन्त्रालयको निर्देशनमा जिल्ला सुरक्षा समिति पर्साले सोमबार मध्यरातदेखि ७२ घण्टाका लागि सीमा नाका बन्द गर्ने निर्णय गरी सीमा नाकामा सर्तकर्ता अपनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए।

उनले पर्साको सुरक्षा प्रबन्धको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागको टोलीले संयुक्त रुपमा सुरक्षा प्रबन्ध मिलाइरहेको उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell