ललितपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्नेभन्दा पनि आफ्नो ध्यान देश विकास कसरी गर्ने भन्ने रहेको बताएका छन्।
वाम गठबन्धन क्षेत्र नं–१ ले सोमबार ललितपुरको चापागाउँमा आयोजना गरेको चुनावीसभामा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र आफू दुवैको पार्टी एकीकरणको उद्देश्य अध्यक्ष बन्नु नभएको प्रष्ट पारे।
ओलीले भने, “अहिले नै हामी पार्टीका अध्यक्ष छौं, त्यसका लागि एकीकरणमा जानु पर्दैन।” नेताको व्यवस्थापनभन्दा पनि जनताको व्यवस्थापनका लागि पार्टी एकीकरण भएको उनले बताए। घाइते, पीडित, बेरोजगार र गरिब जनताको व्यवस्थापनको आवश्यकता भएको उनको भनाई थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को पटक प्रधानमन्त्री हुनेबाहेक अरु चुनावी कार्यसूची नभएको आरोप लगाउँदै ओलीले भने, “पत्रकारले कार्यक्रम के छ भनेर प्रश्न गर्दा उहाँले म प्रधानमन्त्री बन्नु छ भन्ने गर्नुभएको छ।” अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा विकासका कामको थालनी र छिमेकीसँगको सम्बन्ध सुधार गरेको दाबीगर्दै वामपन्थीसँग सरकारमा गएपछिका थुप्रै कार्यक्रम रहेको जिकिर गरे।रासस