PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बरमझिया पेडा पसल संवाद : भोटर लिष्टमा नाम छैन, पेडा पसलबाट दारु बिक्री



पहिलोपोस्ट

बरमझिया पेडा पसल संवाद : भोटर लिष्टमा नाम छैन, पेडा पसलबाट दारु बिक्री

  • बीपी साह/पीके झा

बरमझिया (सप्तरी) : बरमझियाको पेडा देशैभरी फेमस। पूर्वपश्चिम राजमार्गको सप्तरी खण्डमा कोशी नदीभन्दा पाँच किलोमिटर पश्चिम बरमझियामा एउटै नाम गरेका कैयौं पसल छन्।

बुढो बाजेको पेडा पसल, बुढो बाजेको असली पेडा पसल, बैजनाथ बाजेको पेडा पसल, बैजनाथ बाजेको असली पेडा पसल लगायत नामबाट दर्जनौं पेडा पसल खोलिएका छन्।

यी पसलहरुमा एक दिनमा प्रति किलो सात सयको दरले दुई किलोदेखि पचास किलोसम्म पेडा बिक्री हुने गरेको छ। र, मुख्य ग्राहक हुन्छ पूर्व पश्चिम राजमार्गमा आवतजावत गर्ने यात्रु।

अहिले यहाँका पसलहरु सुनसान जस्तै छन्। सवारी साधन केही दिन यता निकै कम चलेको छ। जसकारण बिक्री खासै छैन।'

श्री असली बुढो बाजेको पेडा भण्डारका सञ्चालक प्रकाश कुमार झाले चुनावको समयमा पेडा बिक्रीमा कमी आएको बताए। झाले भने, ‘चुनावमा नेताहरुले मासु र दारुको भोज गर्छन्। आकल-झुकल चुनाव जितिसके पछि कोइकोइले मात्र पेडा बाँड्ने गरेका छन्। यो चुनावले हाम्रो अफ सिजन चलेको छ।’

आफुहरुलाई चुनावसँग खासै मतलब नभएको बताउँदै झाले भने, ‘पसल छोडेर गाउँ गएर भोट खसाउन झ्याउ लाग्छ। मिल्यो भने जाउँला।’

पेडा पसलहरुले कोशी टप्पु क्षेत्रका किसानबाट प्रति लिटर ७० का दरले दुध खरिद गर्छन् भने डेरीबाट ७६ रुपैयाँमा। अधिकांश समयमा दूधको अभाव हुने गरे पनि अहिले पेडा कम बिक्री भएकाले दूध प्रर्याप्त मात्रमा पाइन्छ।


भोटर लिष्टमा नाम छैन

पेडा पसलमा काम गर्ने ३८ वर्षीय ललन मुखियाको भोटर लिष्टमा नाम छैन। सप्तरीको त्रिहुत गाउँपालिकाको मैना करेरी घर भएका उनलाई चुनावसँग मतलब पनि छैन।

केही वर्षअघिसम्म गाउँमा ज्यालादारी गरेका मुखिया अहिले पेडा पसलमा काम गर्छन्। पेडा पसलमा भाडा माज्ने, गिलास उठाउने जस्ता काम उसलाई सजिलो लाग्छ। उसले राम्ररी खान पनि पाउँछ।

‘पेडा पसलको काम राम्रो छ। तुरुन्तै पैसा पनि पाइन्छ। गाउँमा काम गर्दा बोइन (ज्याला) लिनै समय लाग्थ्यो,’ मुखिया भन्छन्,‘गाउँमा नेताहरु आउँछन्, भाषण गर्छन्, मैले बुझेकै छैन केके भन्छन्।’

दुईवटा छोरा रहेका मुखियाको श्रीमती र बच्चाहरु गाउँमै बस्छन्। उनको परिवारको कसैको भोटर आइडी छैन। उनी भन्छन्, ‘नागरिकता बल्ल बल्ल बन्यो। तर भोटर लिष्टमा नाम छैन। एक पटक फोटो पनि हामीले खिचायौं तर अस्तीको चुनावमा नाम नै थिएन। त्यसैले भोट खसाउन पाएनौं।’

सोही पसलमा काम गर्ने बरमझिया कै दरिश शेखको पनि उस्तै अवस्था छ। विगत ६ वर्षदेखि उनी पेडा लाइनमा काम गर्छन्।

शेखले पनि आफुलाई चुनावसँग मतलब नभएको बताउँछन्।
 

बाजेको पेडा पसलबाट दारु बिक्री हुन थाले पछि...

बाजेको पेडा पसल नाम दिएर खोलिएका केही पसलहरुले अब रक्सी पनि बिक्री गर्न थालेका छन्। पेडा बिक्रीबाट मात्रै नाफा नदेखे पनि उनीहरुले रक्सी र मासुसमेत बेच्न थालेका छन्।

श्री बैधनाथ पुराने बुढोको पेडा भण्डारलगायतको पसलबाट रक्सी पनि बिक्री हुन थालेका छन्। बैजनाथ बुढो शाकाहारी थिएर तर उनको नाममा खोलिएका पेडा पसलमा रक्सी र मासु बेचिन थालेपछि स्थानीयबासी चकित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell