
काठमाडौं : इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको पुरुष÷महिला सिंगल्सको समूह चरणका खेलहरु सोमबार सम्पन्न भएका छन्। समूह चरणका खेल सकिएपछि सुपर लिग खेल्ने १२ पुरुष तथा ९ महिला खेलाडीको टुंगो पनि लागेको छ।
महिलाको समूह ‘ए’ बाट नेपाल आर्मी क्लबकी दीक्षा तामाङ पहिलो, नेपाल प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ दोश्रो तथा नेपाल एपीएफ क्लबकी सिक्का सुवाल तेश्रो हुँदै सुपर लिगमा प्रवेश गरे। ६ खेलाडी सहभागी यो समूहमा दीक्षाले शतप्रतिशत जित निकालिन्। नविताले ४ जित र १ हारको सामना गरिन्। सोमबारै भएको खेलमा दीक्षाले नवितालाई ३–१ को सेटमा पराजित गरेकी थिइन्।
समूह ‘बी’ बाट एपीएफकी सेलिशा खड्गी, आर्मीकी रविना महर्जन र प्रहरीकी सोनु थापा मगर तथा समूह ‘सी’ बाट आर्मीकी स्वेच्छा नेम्वाङ, प्रहरीकी एलिना महर्जन र प्रहरीकी यशस्वी सुवाल सुपर लिगलाई चयन भए।
पुरुषको समूह ‘ए’ बाट एपीएफका विलोश श्रेष्ठ र प्रहरीका विनेश खनियाँ, समूह ‘बी’ बाट एपीएफका शिवसुन्दर गोथे र आर्मीका चन्दन शाही तथा समूह ‘सी’ बाट एपीएफका अमरलाल मल्ल र आर्मीका नारायण घिमिरेले सुपर लिगमा स्थान बनाउन सफल भए।
त्यसैगरी, समूह ‘डी’ बाट एपीएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका, समूह ‘इ’ बाट राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठ र आर्मीका कृष्ण थापा मगर तथा समूह ‘एफ’ बाट प्रहरीका दीप साउन र भक्तपुरका राजिव चिकन्बन्जारले सुपर खेल्ने भएका छन्। सुपर लिगअन्तर्गत पुरुषका केहि खेल सोमबारैदेखि नै सुरु भएको छ।