PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अब मुस्लिम ६ देशका नागरिकले अमेरिका प्रवेश नपाउने, राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सर्वोच्च अदालतद्वारा सदर



पहिलोपोस्ट

अब मुस्लिम ६ देशका नागरिकले अमेरिका प्रवेश नपाउने, राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सर्वोच्च अदालतद्वारा सदर
फोटो श्रोतःindianexpress.com

वासिङटन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई सर्वोच्च अदालतले सदर गरेको छ। 

मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिको यसअघि व्यापक विरोध भएको थियो। उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न नमिल्ने आदेश यस अघिको अदालतले दिएको थियो। 

तर सर्वोच्च अदालतको सोमबारको आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त निर्णयलाई सदर गरिदिएको बताइएको छ। सर्वोच्चकाे निर्णयबमोजिम अब ती मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सकिने भएको हो। 

अदालतले दिएको आदेशमा राष्ट्रपति ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध पूर्ण रुपमा कार्यान्वयन गर्न पाउनेगरी खुला गरिएको छ। 

मुस्लिम नागरिकको बाहुल्यता रहेका देशहरु सोमालिया, सिरिया, यमन, चाड, इरान, लिबियाका नागरिकविरुद्ध राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्न नपाउनेगरी यात्रा प्रतिबन्ध लगाएका थिए।  

सोमबार सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धमाथि रोक लगाउने तल्लो अदालतको निर्णयलाई खारेज गरिदिएका छन्। अदालतका ९ मध्ये ७ न्यायाधीशले उक्त प्रतिबन्धको पक्षमा फैसला दिएका हुन्। 

क्यालिफोर्नियाको सान फ्रान्सिस्को र भर्जिनियाको रिचमण्ड संघीय पुनरावेदन अदालतहरुले राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धी नीति ठीक नभएको बताएका थिए। 

यसअघि राष्ट्रपति ट्रम्पको सो कानुनको अमेरिकाभित्र अधिकांशले विरोध गरेका थिए। अधिकारवादीहरुले पनि यसरी कुनै देशका नागरिकलाई नै अमेरिका छिर्न नपाउने गरी लगाइएको प्रतिबन्ध नागरिकको अधिकार विरुद्ध भएको बताएका थिए। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell