PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

पश्चिमाञ्चलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न १२४ जना पक्राउ



नरहरि पौड्याल

पश्चिमाञ्चलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न १२४ जना पक्राउ

पोखरा :  दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौती थपिएको भन्दै यस क्षेत्रबाट सुरक्षा निकायले एक सय भन्दा बढीलाई निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पक्राउ गरेको छ।

सुरक्षा निकायले निवाचन विरोधी गतिविधि र अन्य सुरक्षा चुनौतीलाई मध्य नजरगर्दै पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ गरेको छ।

पक्राउ पर्ने अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता छन्। पश्चिमाञ्चलका धेरै ठाउँमा निर्वाचनको मुखमा बम विस्फोट गराउने र आतंकित पार्ने छिटफुट घटना भइरहेका छन्। 

पोखराका मुख्य बजार क्षेत्रमा बम विस्फोटका घटना भएका छन्। कांग्रेस उम्मेदवार विन्दुकुमार थापाको निवास रहेको नयाँबजार, बुद्धचोक र सैनिक बस्तीलगायतका स्थानमा बम फेला परेका थिए।

सुरक्षा निकायले समयमै निष्क्रिय पारेकाले कुनै मानवीय र भौतिक क्षति भने हुन पाएन। त्यसैगरी, तनहुँको क्षेत्र नम्बर २ को प्रदेशसभा (१) का उम्मेदवार प्रदीप पौडेलको घरमा बम प्रहार भएको थियो। 

सोमबार नै तनहुँबाट ४ वटा पेस्तोल र ८७ राउण्ड गोलीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। पहिलो चरणकै निर्वाचनदेखि नै विभिन्न जिल्लाबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको थियो। 

निर्वाचनमा सहभागी दल र उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा समन्वय गरिरहेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले बताए।

उनका अनुसार निर्वाचलाई मध्यनजर गर्दै सुरक्षा जाँच बढाउने र सुरक्षा निकायबाट गस्ती, पेट्रोलिङ र हवाई गस्तीकोसमेत प्रबन्ध गरिएको छ। 

प्रदेश नम्बर ४ र ५ अन्तरगत पश्चिमाञ्चलका तनहुँ, स्याङ्जा, कास्की, पर्वत, नवलपरासी (सुस्ता पूर्व) पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासी (सुस्ता पश्चिम) मा मंसिर २१ मा निर्वाचन हुँदैछ।

निर्वाचमा  सुरक्षाका लागि प्रदेश नं. ४ का ५ जिल्लामा १४ हजार २ सय २८ जना र प्रदेश नं. ५ का ६ जिल्लामा २१ हजार १ सय १९ गरी ३५ हजार ३ सय ७७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने क्षेत्रीय सुरक्षा समितिले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell