PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ठमेल ओपन टेबलटेनिस : संयोग र आभाष क्वाटरफाइनलमा, स्वेच्छा, दीक्षा र नविताको ह्याट्रिक जित



पहिलोपोस्ट

ठमेल ओपन टेबलटेनिस : संयोग र आभाष क्वाटरफाइनलमा, स्वेच्छा, दीक्षा र नविताको ह्याट्रिक जित

काठमाडौं : नेपाल एपीएफ क्लबका संयोग कपाली र पिङपोङ सुपरस्टारका आभाष चौलागाईं हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। संयोग समूह ‘ए’ को विजेता तथा आभाष सोही समूहको उपविजेता बन्दै क्वाटरफाइनल पुगेका हुन्।

त्यसै स्पर्धाको समूह ‘बी’ बाट एपीएफका एलेक्स महर्जन र एभीएमका विशाल गोले, समूह ‘सी’ बाट भक्तपुरकाद्वय रोशन खाइतु र रेखन तामाङ तथा समूह ‘डि’ बाट नेपाल आर्मीका बोधित डिसी र याला स्पिनका डिकेन महर्जन क्रमशः विजेता र उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे।

यु–१६ गर्ल्स सिंगल्सको समूह ‘ए’ मा पिङपोङ सुपरस्टारकी मारिया थापा मगर र भक्तपुरकी मन्जु सुवाल, समूह ‘बी’ मा आर्मीकी दीक्षा दाहाल र वज्र युनियनकी स्मृति पन्त, समूह ‘सी’ मा एपीएफकी अन्जु सुवाल र भक्तपुरकी मनीषा सुवाल तथा समूह ‘डि’ मा वज्रकी नस्ला मानन्धर र भक्तपुरकी आरती सुवाल क्रमशः विजेता र उपविजेता बने। सबै विजेता र उपविजेताले क्वाटरफाइनल यात्रा तय गरे।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको मंगलबारै भएको महिला सिंगल्सको सुपर लिगमा आर्मीकी स्वेच्छा नेम्वाङ र दीक्षा तामाङ तथा नेपाल प्रहरी क्लबकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले ह्याट्रिक जित दर्ता गरे।

स्वेच्छाले एपीएफकी सिक्का सुवाललाई ३–२, प्रहरीकी सोनु थापा मगरलाई ३–० र प्रहरीकी यशस्वी अवाललाई ३–० को सेटमा पराजित गरिन्। दीक्षाले प्रहरीकी एलिना महर्जनलाई ३–१, एपीएफकी सेलिशा खड्गीलाई ३–२ र आर्मीकी रविना महर्जनलाई ३–१ ले हराइन्। एपीएफकी सेलिशा र आर्मीकी रविनालाई ३–० ले पन्छाएकी नविताले प्रहरीकी सिक्का विरुद्ध पनि ३–० कै जित निकालिन्।

अन्य खेलमा आर्मीकी रविनाले प्रहरीकी यशस्वी, एपीएफकी सिक्काले यशस्वी र प्रहरीकी एलिनाले आफ्नै क्लबकी सोनुलाई समान ३–० को सोझो सेटमा हराए।

पुरुषको सुपर लिगमा दोहोरो जित निकालेका राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठले एपीएफ पुरुषोत्तम वज्राचार्यलाई ३–१ र आर्मीका नारायण घिमिरेलाई ३–०, एपीएफका शिवसुन्दर गोथेले एपीएफका अमरलाल मल्ल र प्रहरीका प्रदीप रोकालाई समान ३–० तथा प्रहरीका दीप साउनले भक्तपुरका राजिव चिकबन्जारलाई ३–० र आर्मीका चन्दन शाहीलाई ३–१ को सेटमा हराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell