वीरगंज : पैसा बाँड्न हिंडेका एमाले कार्यकर्ताहरु ३ लाख नगदसहित पर्साबाट पक्राउ परेका छन्।
सशस्त्र प्रहरीले पर्साको क्षेत्र नं ३ पर्ने पोखरीया नगरपालिका–९ सेमरबारी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नं ७ फुलकवलका अशोककुमार रौनियार, बासुप्रसाद यादव, वृजेश छन्।
उनीहरु आज बिहान ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा एमालेको मतपत्र लिएर गाउँतिर जाँदै गरेको बेला प्रहरीले उनीहरुलाई तीन लाख नगदसहित पक्राउ गरेको हो।
पक्राउ परेका मध्ये अशोक कुमार रौनियार पर्सा क्षेत्र नम्बर ३ का वाम गठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनियारका भाइ हुन्। सशस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ।