PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्तगर्न यमनलाई साउदी अरबको आग्रह



पहिलोपोस्ट

हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्तगर्न यमनलाई साउदी अरबको आग्रह
फोटो श्रोतः businessinsider.com

रियाद :  साउदी अरबले यमनमा आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्तगर्न आग्रह गरेको छ। 

यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यस्तो अभिव्यक्ति दिएको हो। तर उनको हत्याकाबारेमा भने साउदीले कुनै धारणा सार्वजनिक गरेको छैन। 

साउदी अरेबियाको मन्त्रिपरिषदले विज्ञप्ति जारीगरी इरानको सहयोग प्राप्त गरेर हुथीहरुले यमनमा विखण्डनकारी राजनीति गरेकोले उनीहरुबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको हो। 

यसै हप्तामात्र यमनका पूर्व राष्ट्रपति सालेहको हत्या भएको छ। उनले यमनमा करिब ३३ वर्ष शासन गरेका थिए। सालेहले सन् २०१४ पछि यमनी सिया हुथी विद्रोहीकै सहयोग लिएका थिए। 

सालेह सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको यमनको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका बताइएको छ। यसको पुष्टी यमनको गृह मन्त्रालयले गरेको थियो। 

पूर्व राष्ट्रपति सालेहले केही दिनमात्र अघि इरानको समर्थनमा रहेका हुथी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए। तर उनले तिनै विद्रोहीको सहयोगमा यमनको राजधानी सानामा तीन वर्ष जति शासन सम्हालेका थिए। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell