काठमाडौँ: सर्वोच्च अदालतले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेजीको सम्वन्धमा परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने फैसला दिएको छ। यससँगै उनी चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य ठहरिएका छन्। सर्वोच्चले फैसला सुनाउँदै उनको माग अनुसार अन्तरिम आदेश दिन नपर्ने सुनाएको छ।
बिहीबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन हुँदैछ जसमा उनी सर्लाहीबाट उम्मेदवार थिए।
यादवले उम्मेदवारी खारेज बदरको माग गर्दै मंसिर १२ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
चुनावको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादव माथि कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो।
लामो समयसम्म उजुरीमा मौनत साँधेको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको १० दिनअघि उम्मेदवारी खारेज गरेको हो।
दोस्रो चरणको निर्वाचनमा भाग लिन उम्मेदवार बनेका तनहुँका गोविन्दराज जोशी र यादवको उजुरीको प्रकृति एकै थियो। जोशीको उम्मेदवारी तत्काल रद्द भए पनि यादवको लामो समयपछि निर्णय भएको हो।
सामान्यतया दाबी विरोधको उजुरी जिल्ला तहबाटै निर्णय गर्ने यसअघिको प्रचलन भए पनि जोशी र यादवको उजुरी केन्द्रमै तानिएको थियो।
यस्तो छ खारेजीको कारण
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १३ (घ) अनुसार यादवको उम्मेदवारी रद्द गरिएको हो।
तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद् हुँदा यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी दुरुपयोगको मुद्दा चलाएको थियो। आरोप लागेका पाँचमध्ये तीन जनालाई विशेषले दोषी ठहर गरेको थियो। गायत्री साह, विश्वनाथ यादवसँगै शिवपुजन पनि दोषी ठहरिएका थिए।
२०७२ साउन २६ गतेको उक्त फैसलाको पुनरावेदन सर्वोच्चमा विचाराधीन छ। विशेषले शिवपुजनलाई चार महिना जेल र १५ हजार जरिवाना हुने आदेश गरेको थियो।
पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सर्लाही तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई पराजित गरी राय संविधानसभा सदस्य बनेका थिए। २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पार्टी बदलेर महेन्द्र राय यादव नेतृत्वको दलबाट सर्लाही ६ मा नै उनी उम्मेदवार बनेका थिए। कांग्रेसका अमरेशकुमार सिंहसँग उनी पराजित भएका थिए।
योपटक पनि सर्लाही ४ मा राय कांग्रेसका सिंहसँग नै प्रतिस्पर्धामा थिए।
आफ्नो कुटनीतिक राहदानी दुरुपयोग गरेर अन्य व्यक्तिलाई विदेश पठाएको आरोपमा उनीमाथि अख्तियारले मुद्दा चलाएको थियो।