.jpg)
काठमाडौं : नेपाल प्रहरीले ४५ जिल्लामा भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा निर्धक्क भएर सहभागी हुन मतदातालाई आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरी सुरक्षाको सबै प्रबन्ध मिलाएको जनाएको हो। पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मनोज न्यौपानेले एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। त्यसैरी, थप सुरक्षाकर्मी र हवाई सुरक्षा गस्तीकोसमेत व्यवस्था मिलाइएको उनले बताए।
चुनावमा कहीँ केही भएमा पाँच मिनेटमा सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ। प्रवक्ता न्यौपानेले अधिकांश ठाउँमा विस्फोटका घटनामा विस्फोटक पदार्थ प्रयोग नभई आतंकित बनाउने काम मात्र भएको जानकारीसमेत दिए।
प्रवक्ता न्यौपानेले भने, ‘भोजपुर, सिरहा, उदयपुरलगायतका सात स्थानमा मात्र बम विस्फोट भएको हो।’ प्रहरीले विस्फोटका घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका हात भएको निष्कर्ष निकाल्दै चन्दको पनि खोजी भइरहेको उनले बताए। अहिलेसम्म ६ सय कार्यकर्ता पक्राउ गरेको पनि उनले जानकारी दिए।