काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन्।
प्रधानमन्त्री देउवाले आज विज्ञप्ति जारी गरी लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन्।
विज्ञप्तिमा प्रधानमन्त्रीले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ,‘सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु।’
भोलि ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। यसअघि मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ।रासस