PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सुर्खेतमा ६ उम्मेदवार छान्न २ लाख मतदाता



पहिलोपोस्ट

सुर्खेतमा ६ उम्मेदवार छान्न २ लाख मतदाता

  • ललित बसेल -
सुर्खेत : भोलि मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी सुर्खेतमा पूरा भएको छ। २ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १३८ मतदान स्थलका २६३ मतदान केन्द्रहरुमा दुई हजार एक सय कर्मचारी खटिएका छन्। यस्तै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्याद प्रहरी गरी झण्डै ३ हजार सुरक्षाकर्मी खटाइएको सुर्खेतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मतदान सामग्रीसहित पुगेका कर्मचारीहरु मतदानस्थलको तयारीमा जुटेको मुख्य निर्वाचन अधिकृत किरण शिवाकोटीले बताए। प्रत्येक मतदान केन्द्रमा ८ जना सुरक्षाकर्मी खटाइएको उनले बताए। सबै निर्वाचन अधिकृतले मतपत्र, मतपेटिका, छापलगायत सामग्रीहरु लगिसकेको मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जानकारी दिए।      

मंगलवार र बुधवार सुर्खेतमा मतदाता परिचयपत्र वितरण गरिएको छ। स्थानीय तहको निर्वाचनमा परिचयपत्र लिन छुटेका र पछि थपिएका २२ हजार बढी मतदाताको परिचयपत्र तयार भएको थियो। सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण भएको छ। नामावलीमा नाम भएको तर परिचयपत्र नभएका मतदाताहरुले भने सरकारी परिचयपत्र ल्याए मतदान गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। 

सुर्खेतमा कूल दुई लाख चार हजार ५ सय मतदाता छन्। जसमा क्षेत्र नं. १ मा एक लाख एक हजार ६३७ र क्षेत्र नं. २ मा एक लाख दुई हजार ९४० मतदाता रहेका छन्। सुर्खेतमा दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेशसभा सदस्य गरी ६ जनाका लागि प्रतिस्पर्धा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell