PahiloPost

May 14, 2024 | १ जेठ २०८१

प्रदेश २ को चुनावी अभियान : ओ‌ली र प्रचण्ड पुग्दै पुगेनन् आठ जिल्लामा



बीपी साह

प्रदेश २ को चुनावी अभियान : ओ‌ली र प्रचण्ड पुग्दै पुगेनन् आठ जिल्लामा

जनकपुरधाम : सात प्रदेशका ४५ जिल्लामा बिहीबार हुन लागेको दोस्रो चरणको निर्वाचनमा अधिकांश प्रदेशमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच द्विपक्षीय प्रतिस्पर्धा हुँदैछ। सिट संख्याको आधारमा दोस्रो स्थानमा रहेको दुई नम्बर प्रदेशमा भने मधेसकेन्द्रित दलहरुसहित त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ। 

आठवटा जिल्लामा ३२ प्रतिनिधि सभा र ६४ प्रदेश सभा सिट रहेको दुई नम्बर प्रदेशमा चुनावी अभियानका लागि वाम गठबन्धनका शीर्ष नेताहरु नै पुगेनन्। 

चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सिट रहेको रौतहट जिल्लामा प्रमुख तीन दलका कुनै अध्यक्ष पुगेनन्। 

चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सिट रहेको बारामा पनि प्रमुख दलका अध्यक्ष पुगेनन्। यद्यपि बाराको सिमरामा भएको सभामा एमाले नेता माधव नेपालले सम्बोधन गरेका थिए। 

चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सिट रहेको महोत्तरी जिल्लामा पनि प्रमुख दलका अध्यक्ष मध्ये कोही गएनन्।

स्थानीय तहको निर्वाचनमा केपी ओलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पहाडी बाहुल्य क्षेत्र बर्दिवासमा गएर सम्बोधन गरेका थिए। तर प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ओलीले  दुई नम्बरमा पाइलासमेत टेकेनन्।

दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौँबाट पराजित भई सिरहाबाट चुनाव जितेका माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल 'प्रचण्ड' ले यस पटक उक्त जिल्लामा पाइलासमेत टेकेनन्। सिरहामा चुनावी सभालाई सम्बोधन गर्न पूर्वमन्त्री अजयशंकर नायकले बारम्बार आग्रह गरेका थिए। तर प्रचण्ड सहभागी भएनन्।

माओवादी नेता मातृकाप्रसाद यादवका अनुसार प्रचण्डले दुई नम्बर प्रदेशका केही सभालाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि अकस्मात् छोरा प्रकाश दाहालको मृत्यु भएपछि सभालाई सम्बोधन गर्न नआएका हुन्।

आठवटा जिल्लामा ३२ प्रतिनिधि सभा र ६४ प्रदेश सभा सिट रहेको दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैभन्दा धेरै ठाउँका चुनावी सभाहरुलाई सम्बोधन गरेका थिए।
 
देउवाले पर्साको वीरगञ्जमा चुनावी सभालाई सम्बोधन गरेपछि सोही दिन सर्लाही, सिरहा र राजविराज पुगेका थिए। सर्लाहीमा अमरेश सिंहको क्षेत्रमा आयोजित चुनावी सभामा र सिरहामा प्रदिप गिरीको प्रचार प्रसारमा देउवा सहभागी भएका थिए।

त्यस्तै, चुनावको प्रचार प्रसार कै अवधिमा देउवा केही घण्टाका लागि जनकपुरधाम पुगेका थिए। तर उनले चुनावी सभालाई सम्बोधन गरेनन्।

प्रदेश २ को प्रदेश सभा 

कूल सिट १०७
प्रत्यक्ष सिट ६४
समानुपातिक सिट ४३
बहुमतका लागि आवश्यक ५४

प्रदेश २ को जिआइएस म्याप र उम्मेदवारहरुबारे जानकारीका लागि यहाँ क्लिक गर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell