PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

स्कटल्याण्ड र हङकङ वर्ल्डकप क्वालिफायरमा, केन्या डिभिजन टू मा घटुवा



पहिलोपोस्ट

स्कटल्याण्ड र हङकङ वर्ल्डकप क्वालिफायरमा, केन्या डिभिजन टू मा घटुवा

काठमाडौं : स्कटल्याण्ड र हङकङले नेदरल्याण्ड्स र पपुवा न्युगिनीसँगै वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाएको छ। यस्तै केन्या भने डिभिजन टू मा घटुवा भएको छ।

आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको एक खेल बाँकी रहदै वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने र डिभिजन टू मा झर्ने टोलीको टुङ्गो लागेको हो।

यससँगै आगामी फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टू खेल्ने ६ वटै टोलीको छिनोफानो भएको छ। जसमा डब्लुसिएल च्याम्पियनसिपबाट घटुवा भएका केन्यासँगै नेपाल, युएई, आयोजक नामिविया तथा डिभिजन थ्री बाट बढुवा भएका ओमान र क्यानडा छन्। यस प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टिमले पनि वान डे वर्ल्ड कप क्वालिफायर खेल्न पाउनेछन्।

बुधबार भएको महत्वहिन खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको थियो।

यता नामिवियालाई ८ विकेटले पराजित गरेको नेदरल्याण्ड्सले एक खेल अघि नै डब्लुसिएल जित्दै वान डे लिगमा स्थान बनाएको छ।
 

स्कटल्याण्ड केन्यालाई ८ विकेटले तथा हङकङ पपुवा न्युगिनिलाई २३ रनले पराजित गर्दै शीर्ष चारमा स्थान बनाएका हुन्।  

बुधबार भएको खेलपछि १३ खेलबाट २० अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ भने समान खेलबाट १७ अंक जोडेको स्कटल्याण्ड दोस्रो तथा १६-१६ अंक जोडेको पपुवा न्युगिनि र हङकङ क्रमश: तेस्रो र चौथो स्थानमा छन्।

वान डे वर्ल्ड कप क्वालिफायरमा वान डे र्‍याङ्किङको अन्तिम चार टोली, डब्लुसिएलबाट छनोट भएका चार टोली र डिभिजन टू बाट छनोट भएका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell