
काठमाडौँ: आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन्।
एमालेका महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गरे। नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८:४० मा मतदान गरेका छन्।
एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गरेकी छन्। रक्षामन्त्री भीमसेनदास प्रधानले बिहान ७:३० मा कामपा—२७ वडाअन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरे।
त्यसैगरी, नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा बिहान ८ः३० मा मतदान गरे।
त्यस्तै, काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार नवीन्द्रराज जोशीले ढोकाटोलमा रहेको अरुणोदय मावि मा मतदान गरेका छन्। काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार ध्यानगोविन्द रञ्जितले काठमाडौँ महानगरपालिकामा रहेको जैशीदेवलको मतदान केन्द्रमा गएर मतदान गरेका छन्।
एमालेका युवा नेता डा. राजन भट्टराईले काठमाडौँ क्षेत्र नं ४ मा पशुपति बहुमुखी क्याम्पस, चावहिल केन्द्रबाट तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीस्थित महिलाघर मतदान केन्द्रबाट मतदान गरेका छन्।
संघीय समाजवादी फोरम नेपालका सहसअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाः राष्ट्रिय मावि, ढल्को, छत्रपाटी मतदान केन्द्रबाट मतदान गरे। उनी काठमाडौँ क्षेत्र नं ७ को समानुपातिक उम्मेदवार छन्।
यस्तै, काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभाका उम्मेदवार राजन केसीले भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको सोल्टीमोड मतदान केन्द्रबाट मतदान गरेका छन्। युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका केसीको घर चोभारमा भए पनि उनको मतदाता नामावली भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको छ।
त्यस्तै, काठमाडौँ क्षेत्र नं १० का वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यले काठमाडौँ क्षेत्र नं ९ मा रहेको चन्द्रागिरी नगरपालिका–९ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्। रासस