PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मतदान शान्तिपूर्णरुपमा जारी : प्रहरी



पहिलोपोस्ट

मतदान शान्तिपूर्णरुपमा जारी :  प्रहरी

काठमाडौँ :  ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिए। 

उनले भने,‘प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ। मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नुभएको छ। कहीँकतै समस्या आए तत्काल प्रहरी पुग्छ। कुनै समस्या छैन।’ 

कहीँकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर तम्तयार हालतमा राखिएको छ। निर्वाचन भइरहेका जिल्लालाई हेर्ने गरी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत तम्तयार राखिएको प्रवक्ता न्यौपानेले जानकारी दिए। 

निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालित छन्। कहीँकतै समस्या आए र देखिए तत्काल सुरक्षा निकायमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। प्रहरीले शान्ति सुरक्षामा समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्ने गरी विभिन्न स्थानमा सुरक्षाकर्मी व्यवस्थित तवरले परिचालन गरिएको जनाएको छ। 

शान्ति सुरक्षामा कुनै सम्झौता नगरिएको जानकारी दिँदै प्रहरी प्रवक्ता न्यौपानेले कुनै शंकास्पद वस्तु देखिए वा अवाञ्छित गतिविधिको सूचना प्राप्त भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे। 

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन्। प्रहरीले बम भनी हल्ला गरिएका शंकास्पद वस्तु अधिकांश बम नभएको जनाएको छ। 

काठमाडौँको नैकापमा आज बिहान फेला परेको शंकास्पद वस्तु पनि पटका मात्रै रहेको उनले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell