
काठमाडौं : बिहीबार दोस्रो चरणको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनअन्तर्गत आज मुलुकका ४५ जिल्लामा मतदान भइरहेको छ।
मतदान गरेको प्रमाण स्वरुप औंलामा चिन्ह लगाउनु पर्छ। मतदान निर्देशिकामा उल्लेख गरे अनुसार मतदान गर्नुअघि मतदाताको औंलामा मार्करले चिन्ह लगाइन्छ।
मतदाताको नाम रुजु भई तथ्याङ्क फाराममा महिला, पुरुष वा अन्य के हो जनाई सकेपछि उक्त चिन्ह लगाइने गरेको छ। मतदाताको तथ्याङ्क फाराम भर्न खटाइएको महिला स्वयंसेवकले नै मतदाताको बायाँ हातको बूढी औँलामा नङ र मासुको जोर्नीमा नमेटिने गरी मार्करले चिन्ह लगाउँछन्।
तर बायाँ हातको बुढी औंला छैन भने के गर्ने ?
निर्देशिका अनुसार मतदाताको बायाँ हातको बूढी औँला नभएमा दायाँ हातको बूढी औँलामा चिन्ह लगाउनु पर्नेछ।
त्यस्तै मतदाताको दायाँ हातको बूढी औँला छैन भने बायाँ हातको चोर, माझी, साइली र कान्छी औँलामध्ये कुनै पनि औँला ठिक छ भने ती मध्येको एक औँलामा चिन्ह लगाइनेछ।
यदि बायाँ हातमा औंला छैनन् भने नियम अनुसार दायाँ हातको कुनै पनि औंलामा चिन्ह लगाइन्छ। मतदाताको हात नभएको खण्डमा भने मार्करले लगाइने चिन्ह प्रयोग हुँदैन।
दुबै हात नभएको अवस्थामा मतदान अधिकृतले सो व्यहोरा सम्बन्धित नामावलीमा जनाई मतदातालाई मतदान गर्न पठाउने छन्।