PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मतदातालाई उपराष्ट्रपतिले दिए धन्यवाद, दलहरु सहमतिमा अघि बढ्ने विश्वास



पहिलोपोस्ट

मतदातालाई उपराष्ट्रपतिले दिए धन्यवाद, दलहरु सहमतिमा अघि बढ्ने विश्वास

काठमाडौँ :  उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएकामा खुशी लागेको बताएका छन्। 

मतदान सम्पन्न भएपछि सन्देश दिंदै उपराष्ट्रपति पुनले आजको दिन नेपाली इतिहासमा ऐतिहासिक एवं गौरवपूर्ण दिन भएको बताएका हुन्।

राजनीतिक संक्रमणकाल पूर्णरुपमा अन्त्य भई राजनीतिक स्थायित्व आरम्भ भएको, देश नयाँ युगमा प्रवेश गरेको तथा संविधानको पूर्ण कार्यान्वयन प्रक्रिया सुरु भएकामा खुशी व्यक्त गर्दै उपराष्ट्रपति पुनले दोस्रो चरणको निर्वाचनमा सहभागी भएर आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गरेका छन्।  

निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकामा उपराष्ट्रपतिले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिँदै संविधान कार्यान्वयनका लागि राजनीतिक दल र त्यसका शीर्ष नेतृत्वले खेलेको ऐतिहासिक भूमिकाको सराहना गरेका छन्। 

राजनीतिक परिवर्तनकारी संघर्ष र संविधानको कार्यान्वयनमा जस्तै समृद्ध नेपाल निर्माणमा पनि राजनीतिक दलहरु संविधानभित्र रही आपसी सहमति र सहकार्यका माध्यमबाट अगाडि बढ्ने विश्वास उपराष्ट्रपतिले व्यक्त गरेका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell