राजविराज : डा. सिके राउतको गाउँ महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज कसैले मतदान गरेनन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु भए पनि साँझ ५ बजेसम्म उक्त मतदान केन्द्रमा कुनै पनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए।
उक्त मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन सामग्रीको व्यवस्था भए पनि कोही पनि मतदाता नआएका कारण मतदान हुन नसकेको उनले बताए।
सो मतदान केन्द्रमा ९६० मतदाता रहेका थिए।
राउतलाई निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको भन्दै आज प्रहरीले जनकपुरबाट पक्राउ गरेको थियो।