तुलसीपुर : दाङको तुलसीपुरमा आज मतपेटिका संकलन गर्ने क्रममा केहीबेर अगाडि प्रहरीले हवाई फायर गरेको छ। स्थानीय अरनिको मैदानमा मतपेटिका संकलन गर्ने समयमा दुई व्यक्तिले प्रहरीलाई हातपात गरी जबरजस्ती मैदानभित्र छिर्न खोजेपछि हवाई फायर गर्नुपरेको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताए। प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई प्रहरीले पक्राउ पनि गरेको छ। पक्राउ परेका नेकपा एमाले युवा संघका लिला बिक र घनस्याम नेपाली रहेको बताईएको छ। जवरजस्ती रुपमा मतपेटिका संकलन भैरहेको ठाउँमा प्रबेश गर्न खोजेको र प्रहरीले रोक्न खोज्दा हातपात गरेपछि प्रहरी उनिहरुलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जनाएको छ।
अरनिको मैदानमा रहेको मतदान केन्द्रमा अहिले पनि मतपेटिका गाडीभित्र राखिएका छन्। तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका मतपेटिका तुलसीपुरमा आइपुगेपछि मात्र त्यहाँका मतपेटिकालाई घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिने इप्रका तुलसीपुरका प्रमुख सुधीर शाहीले जानकारी दिए।