काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएको र यससँगै नयाँ अध्यायको सुरुवात भएको बताएका छन्।
प्रचण्डले विज्ञप्ती जारी गरी सामान्य घटनाबाहेक शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकामा सबैप्रति धन्यवाद व्यक्त गर्दै उल्लासमय वातावरणमा देशभर निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।
उनले ‘यस महान् अभियान’मा सक्रियतापूर्वक सहभागी भई आफ्नो मत जाहेर गर्ने चितवनवासीलगायत सम्पूर्ण देशवासीप्रति आभार प्रकट गरेका छन्।
उनले भने,“निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्नेछ, यसले मुलुकलाई समृद्धितर्फ लैजानेछ।” उनले प्रत्येक मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएर संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताएका छन्।