
गाजा : गाजापट्टिमा रहेको एक सैनिक चौकीमा इजरायली सैनिकले गोलाबारी गरेका छन्। गोलाबारीका कारण भएको क्षतिको बारेमा भने इजरायली र प्यालेस्टाइनीतर्फबाट केही बताएको छैन।
गाजापट्टिको मध्य भागमा रहेको अल मुघाजी शरणार्थी शिविरमासमेत बिहीबार बिहान सबेरै रकेट प्रहार गरिएको थियो। प्यालेस्टिनीहरूको लागि स्वतन्त्र राज्य माग गरिरहेका प्यालेस्टिनी इस्लामवादीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमसम्बन्धी निर्णयको विरोधमा आन्दोलन सुरु गरेका छन्।
ट्रम्पले अमेरिकी राजदूतावासलाई तेल अभिभबाट जेरुसेलम सार्ने र जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गरेका थिए।
घोषणाको लगत्तै विभिन्न इलाकामा प्रदर्शन जारी रहेको जनाइएको छ।
इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा सुरु भएको थियो।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने ट्रम्पको प्रशंसा गरेका छन्। नेतान्याहुले अमेरिकी राष्ट्रपतिले दूतावास सार्ने घोषणा ऐतिहासिक भएको टिप्पणी गरेका थिए।
त्यसैगरी साउदी अरेबियाले भने अमेरिकी कदमलाई ‘आधारहीन र गैरजिम्मेवार’ भनेको छ। त्यस्तै फ्रान्स र बेलायतले अमेरिकी कदमको समर्थन नगर्ने अनुमान गरिएको छ।
प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासको फताह पार्टीले ट्रम्पको निर्णयलाई निन्दनीय भएको टिप्पणीगर्दै यस निर्णयलाई राष्ट्रसङ्घमा उजुरी दिने बताएको छ। रासस/सिन्ह्वा