PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

ब्याटिङ कमजोर हुँदा अन्तिम खेलमा पनि हार्‍यो नेपाल, डब्लुसिएलमा सातौँ हुँदै डिभिजन टू मा



पहिलोपोस्ट

ब्याटिङ कमजोर हुँदा अन्तिम खेलमा पनि हार्‍यो नेपाल, डब्लुसिएलमा सातौँ हुँदै डिभिजन टू मा
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको अन्तिम चरणको अन्तिम खेलमा पनि नेपाल युएईसँग पराजित भएको छ।

बलिङमा राम्रो प्रदर्शन गरेपनि ब्याटिङ चल्न नसक्दा नेपालले १९६ रनको लक्ष्य समेत भेट्टाउन सकेन र ६३ रनले पराजित भयो। बलिङमा नेपालका सोमपाल कामीले ५ विकेट लिएपछि युएई १९५ रनमा अलआउट भएको थियो। तर जवाफमा नेपाल पनि पूरै ओभर ब्याटिङमा टिक्न सकेन।

नेपाल ४२.२ ओभरमा १ सय ३२ रनमै अलआउट भएको हो। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ४२ रन बनाए भने अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन।

यस्तै विनोद भण्डारीले २५ तथा सागर पुनले २१ रन जोडे। युएईका लागि अमजाद जाभेदले ३ तथा मोहम्मद नभिद, रोहन मुस्ताफा र इमरान हेदरले २-२ विकेट लिए।

त्यसअघि आबुधावीस्थित शेख जायद स्टेडियममा अदनान मुफ्तीले शतक बनाएपछि युएईले ४ बल अगाडी अलआउट हुँदा १९५ रन बनाएको थियो।

३९ रनमा ५ विकेट गुमाएको यूएईको स्कोर उकास्न अदनान मुफ्तीले १०४ रनको शतकिय पारी खेले। युएईका लागि एकल प्रदर्शन गरेका मुफ्तीले ८९ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै मोहम्मद बोटाले ३७ र अहमद राजाले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङ तर्फ नेपालका सोमपाल कामीले १० ओभरको स्पेलमा १ मेडन राख्दै २७ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै ललितसिंह भण्डारी, पारस खड्का, सागर पुन र सन्दीप लामिछानेले समान १ विकेट लिए।

बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ७ विकेटले पराजित भएकव थियो।

युएई विरुद्वको सिरिज २-० ले हारेपछि नेपालले १४ खेलबाट मात्र ९ अंक जोड्दै डब्लुसिएल यात्रा सातौँ स्थानमा टुङ्गाएको छ। नेपाललाई दुई खेलमा हराएको युएई १० अंक जोडेर छैटौँ भयो।

८ टोली सम्मिलित डब्लुसिएल च्याम्पियनसिपबाट नेपाल र युएईसँगै केन्या र नामिविया यसअघि नै डिभिजन टू मा घटुवा भइसकको छ भने नेदरल्याण्ड्स, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङ वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट भएका छन्।

नेपालले अब डब्लुसिएलबाट घटुवा भएका ३ टोली र डिभिजन थ्री बाट बढुवा भएका ओमान र क्यानडासँग आगामी फेब्रुअरीमा डिभिजन टू खेल्नेछ।

उक्त प्रतियोगिताको शीर्ष दुईमा रहने टिम पनि वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell