PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

ठमेल ओपन टेबलटेनिसको सुपर लिग सम्पन्न, श्यान्टुले एकै दिन जिते ५ खेल



पहिलोपोस्ट

ठमेल ओपन टेबलटेनिसको सुपर लिग सम्पन्न, श्यान्टुले एकै दिन जिते ५ खेल

काठमाडौं : हुवाइ इम्प्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष-महिला सिंगल्सको सुपर लिगका खेलहरु शुक्रबार सम्पन्न भएका छन्।

पुरुष सिंगल्सको सुपर लिगमा राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठ पहिलो, एपीएफका पुरुषोत्तम वज्राचार्य दोश्रो, एपीएफकै शिवसुन्दर गोथे तेश्रो र प्रहरीका दीप साउन चौथो भए।

१२ खेलाडी सहभागी प्रतिस्पर्धामा श्यान्टुले सबै प्रतिद्वन्द्वीलाई पराजित गरे। अन्तिम दिन उनले ५ खेलमा प्रतिस्पर्धा गरे र सबैमा जित आत्मासात् गरे। उनले आर्मीका चन्दन शाहीलाई ३–० तथा एपीएफका शिवसुन्दर गोथे, एपीएफकै अमरलाल मल्ल, प्रहरीका प्रदीप रोका र प्रहरीकै दीप साउनलाई समान ३–१ को सेटमा हराए।

त्यस्तै पुरुषोत्तमले १० मा जित र १ मा हार, शिवले ९ मा जित र २ मा हार तथा दीपले ८ मा जित र ३ मा हार व्यहोरे।

नौ खेलाडी सहभागी महिला सुपर लिगमा राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ, नेपाल आर्मी क्लबकी स्वेच्छा नेम्वाङ र दीक्षा तामाङ तथा प्रहरीकी एलिना महर्जनले शीर्ष चार स्थान हारे।  

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नविताले सहोदर नन्द आफ्नै क्लबकी एलिना महर्जनलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुपर लिगमा शत प्रतिशत जित निकालिन्। ६ मा जित र २ मा हार व्यहोरेकी स्वेच्छाले आर्मीकी रविना महर्जनलाई ३–० ले हराइन्। नेपाल एपीएफ क्लबकी सेलिशा खड्गीसंग भने स्वेच्छा १–३ ले चुकिन्।

तेश्रो भएकी आर्मीकी दीक्षा तामाङ तामाङले पनि ६ मा जित र २ हारको सामना गरिन्। ‘हेड टु हेड’ मा दीक्षा स्वेच्छासंग पछि परेकी हुन्। दीक्षाले प्रहरीकी सोनु थापा मगरलाई ३–१ ले हराइन्।

चौथो भएकी एलिनाले ५ मा जित र ३ मा हार बेहोरिन्। सुपर लिगको अन्तिम दिन एलिनाले ३ खेल खेलिन्। त्यसमा एलिनाले प्रहरीकी यशस्वी अवाललाई मात्र ३–० को सीधा सेटमा पाखा लगाइन्। एलिना स्वेच्छासंग १–३ तथा भाउजु नवितासंग ०–३ ले पछि परिन्।

पुरुष-महिला सिंगल्सको क्वालिफायरमा सुपर लिगमा पहिलो र दोश्रो हुने खेलाडीबीच हुने प्रतिस्पर्धामा विजयी हुने खेलाडी सोझै फाइनलमा प्रवेश गर्नेछ। दोश्रो हुने खेलाडीले पनि पुनः फाइनलमा पुग्ने एक मौका प्राप्त गर्नेछ। दोश्रो हुने खेलाडीले फाइनल प्रवेशका लागि तेश्रो र चौथो हुने खेलाडीबीचको प्रतिस्पर्धामा विजयी हुने खेलाडीसंग फेरि प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell