नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा पराजयको लहर चलेको छ। मत गणनाका अहिलेसम्मका नतिजा अनुसार, यसका “सुविख्यात” र “सुनामधन्य” नेताका रुपमा रहेका धेरै व्यक्तित्वहरु धूलो चाट्दैछन्। पराजयको क्रममा को को नेता रहेका छन् त्यो टेलिभिजनहरुले देखाइरहेका छन्। अनलाइनहरुबाट पनि यसको राम्रो विश्लेषणात्मक प्रचार भइरहेको छ। चुनावी नतिजा वाम गठबन्धनको पक्षमा जाने स्पष्ट देखिएको छ। तर पनि, अन्तिम परिणाम नआएसम्म दलहरुको श्रेष्ठता र कनिष्ठताका बारेमा चर्चा गर्नु ठीक हुँदैन। नेपालको राजनीति भावनात्मक हिसाबले सारै काँचो छ। नेताका व्यक्तिगत रुची र आकण्ठामा चुर्लुम्म डुबेको।
कांग्रेसको पराजयमा वामपन्थीहरु खुशी हुनु त स्वाभाविक नै हो। अहिले वामपन्थीहरु खुशी भए पनि कांग्रेसप्रति वडो मायालु र भावुक भएका छन्। उनीहरुको कलमबाट कांग्रेसले कहाँ कहाँ के के गल्ती गर्यो? विश्लेषणात्मक टिप्पणीहरु आइरहेका छन्। वामपन्थी विश्लेषकहरुका अनुसार, कांग्रेस चारपटक सत्तामा पुगेर पनि केही गर्न सकेन। कांग्रेसले २०१५ सालमा पूर्ण बहुमत पाएको थियो। त्यतिबेला पनि केही गर्न सकेन भन्न वामपन्थीहरुलाई लाज लाग्दैन। उनीहरु राजा महेन्द्रले वीपी कोइरालाको नेतृत्वको सरकारलाई “काम गर्न नसकेर हटाएको” भन्न बेर लगाउँदैनन्। कम्युनिष्टहरुको प्रचार शैली त्यही हो। कम्तिमा पनि, २०४६ सालको राष्ट्रिय जन आन्दोलनको सहयात्री दलका रुपमा एमाले पार्टीले इतिहासलाई विकृत र विक्षिप्त बनाउने काम गर्नु नपर्ने हो। उनीहरु किन यसरी लोकतान्त्रिक शक्तिका विरुध्द खनिएका हुन्? कसैले भन्न सक्दैन।
हो, सभापति शेरबहादुर देउवाका नेतृत्वमा निर्वाचनमा हार्दैछ कांग्रेस। परिणामले त्यतै ईंगित गरेको छ। उनी कांग्रेसमा सामान्य भूमिकामा रहेका बेला सुदूर र मध्य पश्चिम नेपालमा हावी भएका थिए २०४६ को आन्दोलनपछिको निर्वाचनमा। अहिले वामपन्थीहरु उनले मतदान गरेको केन्द्र रहेको स्कूलको दुर्दशाको तस्वीर छापेर त्यसका लागि उनैलाई जिम्मेवार ठहराउँछन्। मानौं कि, उनी जिम्वावेका राष्ट्रपति रोवर्ट मुगावेजस्तै लामो समयदेखि सत्तामा रहेका हुन्।
कांग्रेसको पराजयमा खुशी हुनु, रमाउनु, सहानुभूति प्रकट गर्नु, व्यंग्य हान्नु वामपन्थीका लागि त स्वाभाविक हो। त्यही लयमा कांग्रेसीहरु पनि पराजयको मनोरन्जन लिन आतुर देखिएका छन्। दुश्मनसँग म आफैँ लड्छु, मलाई मेरा साथीहरुसँग जोगिने शक्ति चाहिएको छ भन्ने भनाइ त्यसै चलेको होइन। बीपी कोइरालाका बारेमा पुङ पुच्छर केही नजानेका कांग्रसी हौं भन्ने नव–मण्डलेहरुले पनि बीपी दर्शनको लामो व्याख्यान दिन थालेका छन्। उनीहरु भन्न थालेका छन - “सुशील कोइरालाले त भनेकै थिए शेरबहादुरले पार्टी सखाप पार्छ।”
प्रधानमन्त्री देउवाका गल्ती नभएका होइनन्। उनले देशको सामाजिक वातावरण वुझ्न सकेनन्। २०५२ मा प्रधानमन्त्री भएपछि पुल्चोकमा जम्मा भएका तरुणहरुलाई सम्बोधन गर्दै उनले भनेका थिए, “म प्रधानमन्त्री भएपछि तपाईंहरुको पनि इज्जत बढेको छ, सबैले नमस्कार गर्दछन्। अब काम गर्नुस्।” यसपटक उनले काम गर्ने कार्यकर्ता पाखा लगाए।
परिवर्तन वामपन्थीहरुका लागि मात्रै होइन कांग्रेसका लागि पनि उत्तिकै चाहिएको हो। तर, कांग्रेसमा यो कुरा आत्मसात गर्ने कार्यकर्ता भएनन्। सबै नोट र शक्ति खेलाउने मात्रै भए। उनले पार्टीभित्र आफनी पत्नीको प्रवर्द्धन गरे। उनका सहयोगीहरुको काम बेलायतमा अध्ययन गरिरहेका देउवा पुत्र जयवीर देउवाले बेलायतमा गरेको वीरता प्रदर्शनको चर्चा समाजमा चलाउनु नै रह्यो। स्थानीय तहको चुनावमा प्रचारवेत्ताका ठाउँमा कानूनवेत्तालाई संयोजक बनाए जसका लागि मिडिया र न्यू मिडियाको अर्थ नै अज्ञात थियो। प्रचार समितिमा वामपन्थीहरुको पहूँच मात्रै होइन पकड पनि थियो। एक्काइशौं शताव्दीको “मिडिया पावर” बुझेका प्रतिपक्षीहरु स्थानीय चुनावदेखि नै कांग्रेसका विरुध्द निरन्तर लागि रहेका थिए। तर, कांग्रेसका तलवी प्रचारकहरु खाँटी वामपन्थीलाई काखी च्यापेर कांग्रेसीहरुलाई नै उल्लु बनाउँदै थिए।
कमजोरीहरु देउवाको मात्र नभएर कांग्रेस पार्टीकै रह्यो। संसारमा नेपाली कांग्रेस बाहेक कुन यस्तो पार्टी होला जसको महामन्त्रीले चुनाव अभियानको बीचमा दिएको टेलिभिजन वार्तामा आफ्ना सभापतिलाई हटाउने अभिव्यक्ति दिन्छ? कांग्रेस पार्टीमा शशांक कोइराला, रामचन्द्र पौडेल, रामशरण महतहरुले शेरवहादुरको पराजयमा पार्टीको विजय नदेखेको भए परिणाम फरक आउँथ्यो। कमसेकम, शेरबहादुरले सफलतापूर्वक संक्रमणकालीन समयको अन्त्य गरे। यो उनको योगदान सबैले सँधै सम्झिने छन्।
निश्चय पनि, कांग्रेस आफ्नै आडम्वर र अभिमानको शिकार भएको हो। पार्टीमाथि मतदाताको विश्वास सकिएको होइन। आदर्श र बलिदानको कथा प्रभावहीन भएको पनि होइन। कांग्रेस विचार हो, त्यो कहिल्यै मर्दैन। अहिलेको निर्वाचनमा कांग्रेसको साख रहे पनि, नरहे पनि यो टिप्पणीको सान्दर्भिकता सँधैका लागि रहने त छँदैछ।