PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

नोबेल मेडिकल कलेजका सञ्चालकलाई हराउँदै मोरङ ३ मा एमालेका भानुभक्त ढकाल विजयी



अनन्तराज न्यौपाने

नोबेल मेडिकल कलेजका सञ्चालकलाई हराउँदै मोरङ ३ मा एमालेका भानुभक्त ढकाल विजयी

विराटनगर : मोरङमा वामपन्थीको किल्ला मानिँदै आएको क्षेत्र नं ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल निर्वाचित भएका छन्।

वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका ढकाल आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा सुनिल शर्मालाई १ हजार ९ सय ७ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

घोषित परिणामअनुसार ढकालले  ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका छन्।स्थानीय तहका आधारमा कांग्रेसको भन्दा वाम गठबन्धन २१ हजार मतले अगाडि थियो। 

शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका संञ्चालकसमेत हुन् । चुनाव र उम्मेदवारीको घोषणापछि उनले यस क्षेत्रका जनतालाई बस र एम्बुलेन्समा ओसार्दै नोबेल अस्पतालमा उपचार गराएको प्रसङ्ग चर्चित र विवादास्पद रह्यो। यसबारेमा आचारसंहिताको उल्लङ्घन भएको भन्दै वाम गठबन्धनले निर्वाचनमा आयोगमा शर्माविरूद्ध उजुरीसमेत दिएको थियो। 

तेह्रथुमको ओख्रेमा २०१८ सालमा जन्मिएका ढकाल मोरङका स्थायी बासिन्दा र मतदाता भने होइनन्। उनको मतदाता नामावली काठमाडौंमा छ।

अनेरास्ववियुको महासचिवसम्म भएका ढकाल विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशील भएका हुन्। २०४५ सालमा तत्कालीन माले पार्टीको सदस्यता प्राप्त गरेका उनी दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद् थिए। उनी दोस्रो संविधानसभा र त्यसपछिको संसदमा एमालेका प्रमुख सचेतक पनि थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell