PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रखर वक्ता महेश आचार्यलाई कसरी हराए माओवादीका अमन मोदीले?



अनन्तराज न्यौपाने

प्रखर वक्ता महेश आचार्यलाई कसरी हराए माओवादीका अमन मोदीले?
मोदीको फेसबुकबाट

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् बौद्धिक नेता महेश आचार्यलाई परास्त गर्दै अमनलाल मोदी मोरङको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

नेता आचार्यलाई ६ हजार ७ सय २९ मतको फरकले हराउँदै माओवादी केन्द्रका जिल्ला तहका नेता मोदीले लाल झण्डा फहराएका हुन्।
मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत प्राप्त गरेका छन्।

आम चुनाव २०५६ र दोस्रो संविधान सभा २०७० मा सोही क्षेत्रबाट निर्वाचित भएका आचार्य प्रखर वक्ता र कुशल वार्ताकार पनि मानिन्छन्। माओवादी जनयुद्ध काल, मधेश आन्दोलन र संविधान निर्माणका बखत तत्कालीन सरकार र काङ्ग्रेस पार्टी समेतले सरोकारवालासित वार्ता गर्नुपर्दा आचार्यलाई मुख्य जिम्मेदारी दिएका थिए।

उनले अर्थ, वन र रक्षा मन्त्रालयजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालिसकेका छन्।

पहिलो संविधान सभा २०६४ मा निर्वाचनमा यही क्षेत्रबाट मधेशी जनअधिकार फोरमका भीमराज राजवंशीले नेता महेशलाई हराएका थिए।

उनै राजवंशी यस पटकको निर्वाचनमा प्रदेश सभाको टिकट माग्दै नेपाली काङ्ग्रेस प्रवेश गर्न खोजेका थिए। काङ्ग्रेसले भाउ नदिएपछि उनी एमालेमा गए। आचार्यको पराजयको एक मुख्य कारण यही बन्यो।

उमेरमा मोरङको कान्छा विजेताका रूपमा प्रतिनिधि सभामा जान लागिरहेका अमनको २०४२ असोज ५ गते मोरङको बुढीगङ्गा गाउँपालिकामा भएको हो। उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरेकाछन्। अध्ययन गर्दागर्दै  पार्टी सम्पर्कमा पुगेपछि उनी पूर्णकालीन भूमिगत कार्यकर्ता भएका थिए।

अमन २०६३ सालको शान्ति प्रक्रियासँगै खुल्ला राजनीतिमा आएका हुन्।

दुई वर्ष जेलजीवन बिताएका मोदी २०७० को संविधान सभामा समानुपातिक तर्फबाट चुनिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell