विराटनगर : छोटो समय आपूर्ति मन्त्री हुँदा दरवारमार्गस्थित व्यवसायीका बिच खैलाबैला मच्चाउन सफल विना विभागीय मन्त्री शिवकुमार मण्डल मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
वाम गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादी नेता मण्डलले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याललाई ३ हजार ८ सय ९२ मतले पराजित गरेका हुन्।
मण्डलले २२ हजार ९ सय ४५ र अर्यालले १९ हजार १ सय ५३ मत प्राप्त गरेका छन्।
काङ्ग्रेका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र काङ्ग्रेसकै क्रान्तिकारी नेतृ शैलजा आचार्य चुनाव लडेको यस भूभागबाट दुबै स्वर्गीय व्यक्तित्वको धरोहर मण्डलले भत्काएका छन्।
शिवकुमार २०५८ सालमा माओवादीले स्थापना गरेको मधेशी मुक्ति मोर्चाको केन्द्रीय कोषाध्यक्ष बनेर जनयुद्धमा प्रवेश गरेका हुन्। पार्टीको रौतहट र मोरङको जिल्ला इन्चार्ज हुँदै उनी अहिले स्थायी समिति सदस्यको जिम्मेवारीमा छन्।
शिवकुमारले दोस्रो संविधान सभा २०७० मा क्षेत्र नम्बर ४ बाट काङ्ग्रेसका गयानन्द मण्डललाई ८ मतको झिनो मतले हराएका थिए।
यस पटक क्षेत्र नम्बर ४ र ५ का केही भूभाग मिलाएर क्षेत्र नम्बर ५ बनाइएको छ।
दोस्रो संविधान सभाको निर्वाचनमा काङ्ग्रेसका अर्यालले तत्कालीन मधेसी जनअधिकार फोरम (हाल सङ्घीय समाजवादी फोरम)–का अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नम्बर ५ बाट पराजित गरेका थिए।
उनै अर्यालसितको कडा प्रतिस्पर्धामा शिवकुमारले जितेका हुन्। मधेसी समुदायको ९५ प्रतिशत बसोबास रहेको यस क्षेत्रमा अर्याल एक मात्र पहाडी मूल भएका आकांक्षी थिए। उनी २ पटक मोरङ काङ्ग्रेसको सभापति भइसकेका छन्।