
पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिगमा लिलेलाई ३-१ ले पराजित गरेको छ। घरेलु मैदान पार्क डे प्रिन्समा पिएसजीलाई जिताउन एन्जल डि मारिया, ज्याभिएर पास्टोर र केएलिन एमबापेले एक एक गोल गरे।
लिलेका लागि अनवर अल घाजीले एक गोल गरे। जितपछि पिएसजीले दोस्रो स्थानको मोनाकोमाथि ९ अंकको अग्रता बनाएको छ।
१७ खेलबाट ४४ अंक जोडेको पिएसजी शीर्ष स्थानमा आसिन छ। समान खेलबाट मोनाकोको ३५ अंक छ।
मोनाकोले दुई गोलले पछि परेको स्थिती उल्टाउँदै ट्रोएसलाई ३-२ ले पराजित गरेको हो। मोनाकोलाई कमब्याक जित दिलाउन गुएडो कारिलोले अन्तिम ५ मिनेटमा दुई गोल गरे।
ह्युन जुन सुकले दुई गोल गर्दै ट्रोएसलाई २-० को अग्रता दिलाएका थिए। तर ट्रोएसकै माथिउ डेपलाग्नेले आत्मघाती गोल गरेपछि मोनाकोले गोल अन्तर कम गरेको हो।
मोनाकोका लागि कारिलोले ८५औँ र ८८औँ मिनेटमा गोल गरे।