PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

ठमेल ओपन टेबलटेनिस : राष्ट्रिय च्याम्पियन श्यान्टु र नवितालाई उपाधि



पहिलोपोस्ट

ठमेल ओपन टेबलटेनिस : राष्ट्रिय च्याम्पियन श्यान्टु र नवितालाई उपाधि

काठमाडौं : राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। नेपाल प्रहरीकाद्वय श्यान्टु र नविता क्रमशः पुरुष-महिला सिंगल्समा च्याम्पियन बने।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टुले दुई पटकका पूर्व च्याम्पियन प्रहरीका दीप साउनलाई ४–१ को सेटमा पराजित गरे। सानै उमेरदेखि नविताबाट टेबलटेनिस खेल्न सिकेका श्यान्टुले दीपलाई ७–११, १३–११, ११–३, ११–९ र ११–९ को सेटमा हराएका हुन्।

गत वर्ष पूर्वाञ्चलको विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्स फाइनलमा तीनपटकका पूर्व राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेलाई हराउँदै ‘डेब्यु’ राष्ट्रिय प्रतियोगितामा श्यान्टु राष्ट्रिय च्याम्पियन बन्न सफल भएका थिए। जतिखेर श्यान्टु १६ वर्षका मात्र थिए। श्यान्टुले नेपाली टेबलटेनिसको इतिहासमा कम उमेरमा सिंगल्सको उपाधि जित्ने इतिहास समेत रचेका थिए।

उपाधि यात्रासम्म अपराजित रहेका श्यान्टुले फाइनल प्रवेशका लागि भएको क्वालिफायर राउन्डमा नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्यलाई ४–१ ले हराएका थिए। श्यान्टु सुपर लिगमा पहिलो र पुरुषोत्तम दोश्रो भएका थिए। हारका बावजुद राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका दुई पटकका ‘फाइनलिस्ट’ पुरुषोत्तमसंग फाइनल पुग्ने एक अवसर बाँकी नै थियो। त्यसमा पनि पुरुषोत्तम दीपसंग ४–१ ले चुके। राष्ट्रिय प्रतियोगिताको दुवै फाइनलमा पनि पुरुषोत्तम दीपसंगै पराजित भएका थिए। जितसंगै दीपले श्यान्टुसंग उपाधि भिडन्त पक्का गरेका थिए।

सुपर लिगमा तेश्रो भएका दीपले चौथो भएका एपीएफका शिवलाई एलिमिनेटर राउन्डमा ४–१ ले पराजित गरा थिए। पुरुषोत्तमले तेश्रो स्थानमा चित्त बुझाए।

महिला सिंगल्सको उपाधि भिडन्तमा नविता श्रेष्ठले सहोदर नन्द एलिना महर्जनको चुनौती ११–९, ११–७, १०–१२, ११–९ र ११–८ को सेटमा समाप्त परिन्। प्रतियोगिताभर एक खेलमा पराजय भोगेकी नविताले पहिलो क्वालिफायर राउन्डमा सुपर लिगमा दोश्रो भएकी नेपाल आर्मी क्लबकी स्वेच्छा नेम्वाङमाथि ४–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। सुपर लिगमा अपराजित रहँदै पहिलो भएकी नविता समूह चरणको खेलमा नेपाल आर्मी क्लबकी दीक्षा तामाङसंग पराजित भएकी थिइन्।

सुपर लिगमा तेश्रो भएकी आर्मीकी दीक्षा तामाङ र चौथो भएकी एलिनाबीचको एलिमिनेटर राउन्डमा एलिना ४–१ ले विजयी भइन्। त्यो जितसंगै एलिनाले फाइनलमा स्थान बनाउन स्वेच्छासंग फेरि क्वालिफायर राउन्ड खेल्नु पर्ने थियो। त्यो प्रतिस्पर्धामा पनि एलिनाले ४–१ ले जितेकि थिइन्। स्वेच्छा तेश्रो भइन्।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश: २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन्।

यू–१६ मा संयोज र दीक्षा च्याम्पियन

यू–१६ सिंगल्सको ब्वाइजमा एपीएफका संयोग कपाली र गर्ल्समा आर्मीकी दीक्षा दाहाल पहिलो भए।

ब्वाइज फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई १३–१५, १३–११, ११–६, ११–९, ६–११ र ११–८ ले पराजित गरे। याला स्पिनका डिकेन महर्जनले आर्मीका बोधित केसीलाई ४–३ ले हराउँदै तेश्रो बने।

गर्ल्स फाइनलमा दीक्षाले वज्र युनियनकी स्मृति पन्तलाई ११–७, ११–८, ११–७ र ११–७ को सेटमा हराइन्। तेश्रो स्थानका लागि भएको खेलमा एपीएफकी अन्जु सुवालले पिङपोङ सुपरस्टारकी मारिया थापा मगरलाई ४–१ ले सहजै पन्छाइन्।

ब्वाइज र गर्ल्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाउने छन्।

प्रतियोगिताअन्तर्गत अब मिक्स टिम इभेन्टको खेल मात्र बाँकी छ। उक्त स्पर्धामा सहभागी सात टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। शीर्ष चार स्थानमा रहने टिमलाई क्वालिफायर र एलिनेटर राउन्ड खेलाइनेछ र त्यसपछि फाइनल खेलाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell