PahiloPost

May 14, 2024 | १ जेठ २०८१

संविधानमा हस्ताक्षर नगर्ने सभासद्को ‘ह्याट्रिक’



बीपी साह

संविधानमा हस्ताक्षर नगर्ने सभासद्को ‘ह्याट्रिक’

काठमाडौं : मधेशमा आन्दोलन जारी रहेका बेला काठमाडौंमा संविधान जारी भयो। प्रमुख पार्टीहरुले आफ्ना सभासद्हरुमाथि ह्वीप लगाएर संविधानमा हस्ताक्षर गर्न लगाए। तर दुई प्रमुख पार्टीका दुई नेताले संविधानमा हस्ताक्षर नगरी बाहिरिए। जसमध्येका एक थिए तत्कालिन एमाओवादीका नेता प्रभु साह।

मधेशको भावना विपरीत संविधान जारी भएको भन्दै साहले संविधानमा हस्ताक्षर गरेनन् र पार्टीको ह्वीपसमेत मानेनन्। जसकारण उनी मधेशमा निकै चर्चामासमेत आए। तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले साहलाई सम्मानसमेत गरेको थियो भने मधेशवादी पार्टीमा आउन बारम्बार आग्रह गरेको थियो। तर उनले माओवादी पार्टी छोडेनन् ।

माओवादी जनयुद्धमा निकै चर्चामा रहेका साह हाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य छन्।

निकै पिछडिएको उनको क्षेत्रमा अहिले विकास निर्माणका कार्य तीब्र गतिमा भएको छ। सडक विना नै पुल बनाएको भन्दै साहको एकताका निकै आलोचना हुने गरेको थियो। तर अहिले उनले त्यो पुलहरुको औचित्य पुष्टि गरेका छन् ।

मतदानको केही दिनअघि पहिलोपोष्ट टिमसँग साहले भनेका थिए,‘पहिले मेरो आलोचना हुन्थ्यो। अहिले प्रशंसा हुन्छ। सडक बनाउन यहाँ निकै कठिन थियो। धेरै अवरोधहरु हुन्थे। त्यसकारण पहिले मैले पुल बनाएर, त्यसपछि सडकको ट्रयाक खोल्न लगाएँ। सडक सुचारु भएपछि मात्र डीपीआर र सरकारी कर्मकाण्ड पुरा हुन्थ्यो। त्यही भएर सरकारले २० वर्षमा गर्न नसकेका काम मेरो क्षेत्रमा ४/५ वर्ष मै भएको छ।’

पहिलो संविधानसभामा विजयी भएका साह कानुन तथा न्याय मन्त्री भएका थिए। दोस्रो संविधान सभामा पनि उनी विजयी भए । उनी सहरी विकास मन्त्री भए। उनी हाल विना विभागीय मन्त्री छन्।

प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। रौतहट क्षेत्र नम्बर तीनबाट उनी ९ हजार ५ सय ९३ मतअन्तरले विजयी भएका छन्। उनले २७ हजार ७९९ मत प्राप्त गरेका छन्।

साहका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल कुमार यादवले १८ हजार २ सय ६ मत ल्याएका छन्। साहको यो विजयीसँगै उनी लगातार तीन पटक चुनाव जितेका छन्। उनकी श्रीमती रिना साह दुई नम्बर प्रदेशको पहिलो महिला मयेर छिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell