PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मधेशका ९ क्षेत्र जहाँ कुनै उम्मेदवार छैनन् निर्धक्क, गणनामा कहिले तल कहिले माथि



पहिलोपोस्ट

मधेशका ९ क्षेत्र जहाँ कुनै उम्मेदवार छैनन् निर्धक्क, गणनामा कहिले तल कहिले माथि

काठमाडौं : प्रदेश नम्बर २ मा जारी मत गणनामा मधेशी दलका शीर्ष नेता सुरक्षित भइरहँदा केही चर्चित नेता भने कहिले मतान्तर बढाउँदै त कहिले घटाउँदै छन्। मत गणनाको रोमाञ्चक अंक गणितको खेल अन्य प्रदेशको तुलनामा २ नम्बरमा बढी नै देखिन्छ। हेर्नुस् ९ क्षेत्रमा अगाडि पछाडिको उतार चढाव: 

अमरेश र राकेशकुमारको रस्साकस्सी

सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि सबैभन्दा ढुक्क कोही थियो भने नेपाली कांग्रेसका अमरेशकुमार सिंह। मत गणना भइरहँदा तिनै सिंह सबैभन्दा तनावमा छन्। मत गणनामा कहिले अगाडि त कहिले पछाडि परिरहेका छन् उनी। राजपाका राकेश कुमार मिश्र पनि अमरेशकै अवस्थामा छन्। आइतबार दिउँसो ४:३० बजेसम्म राकेश मिश्र अग्रस्थानमा छन्। उनले १३ हजार २ सय १२ मत ल्याउँदा अमरेशले १२ हजार २ सय ४४ ल्याएका छन्।

राय र हैदरबीचको तनाव

महोत्तर क्षेत्र नम्बर ४ मा पनि रोचक भिडन्त छ – महेन्द्र कुमार राय र मो रजी हैदरबीच। मत गणनाको यो क्रममा राय नेपाली कांग्रेसबाट र हैदर नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धामा छन्।
यी दुईबीच पनि कहिले एक अगाडि र अर्को पछाडिको खेल जारी छ। आइतबार दिउँसो ४:३० बजेसम्म कांग्रेसका रायले ५ हजार १ सय २८ मत ल्याएका छन्। हैदरले ४ हजार ७ सय १० मत ल्याएका छन्। यसमा सुरेन्द्र कुमार यादवले पनि चर्कै प्रतिस्पर्धा दिइरहेका छन्।

बारा ४ मा उस्तै भिडन्त

प्रदेश नम्बर २ को बारा जिल्लामा देव नारायण थारु र एकवाल मियाबीच उस्तै प्रतिस्पर्धा छ। झिनो मतान्तरमा दुवै दलका नेताहरुको अंक अगाडि बढिरहेको छ। थारु एमालेबाट मैदानमा छन् भने मिया राजपाबाट। आइतबार दिउँसो ४:३० बजेसम्म एमालेका थारुले १८ हजार ६ सय ५५ मत ल्याएका छन् भने राजपाका एकवाल मियाले १८ हजार ५ सय ८०।

 

दुई यादव र एक महासेठको टक्कर

धनुषा जिल्लामा मत गठनामा त्रिपक्षीय भिडन्त जारी छ। यहाँ महाजन यादव, रघुवीर महासेठ र महेन्द्र यादवबीच को अगाडि र को पछाडि हुने होड जारी छ। आइतबार दिउँसो ४:३० बजेसम्म संघीय लोकतान्त्रिक फोरमका महाजन यादवले १३ हजार ७ सय ४ मत बटुल्दा नेकपा एमालेका रघुवीर महासेठले १२ हजार ६ सय ५६ मत ल्याएका छन्।
यी दुई नेताबीचको प्रतिस्पर्धामा पछि पछि आइरहेका छन् नेपाली कांग्रेसका महेन्द्र यादव। उनले ११ हजार ८ सय ४२ मत जोडेका छन्।

सिरहामा फोरम र माओवादीबीच उस्तै

सिरहा क्षेत्र नम्बर दुईको प्रतिनिधिसभा निर्वाचन मत परिणाममा उस्तैखाले अप एन्ड डाउन देखिएको छ। यहाँ सत्रुघनप्रसाद सिंह र सुरेशचन्द्र दासबीच प्रतिस्पर्धा छ। फोरम नेपालका सिंह र माओवादी केन्द्रका दास को अगाडि बढ्ने र कसलाई तल झार्ने भन्ने गणितीय प्रतिस्पर्धा जारी छ। आइतबार दिउँसो ४:३० बजेसम्म सिंहले १० हजार ४ सय ५१ मत ल्याएका छन्। त्यस्तै दासले १० हजार १ सय ३९ मत बटुलेका छन्।

बारामा कांग्रेस र एमालेबीच टक्कर

बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर जारी छ। यहाँ नेपाली कांग्रेसबाट उमाकान्त चौधरी र एमालेबाट अच्युतप्रसाद मैनाली चुनावी मैदानमा छन्। आइतबार दिउँसो ४:३० बजेसम्म कांग्रेसका चौधरीले १९ हजार ४८ मत ल्याएका छन्।
एमालेका मैनालीले १९ हजार २१ मत ल्याएका छन्। मतान्तर ज्यादै न्यून भएकाले यहाँ कहिले को अगाडि र कहिलो को पछाडि पर्छ भन्न सक्ने अवस्था छैन।
 

सिरहामा यादव र नायक

चुनावी ट्रेन्ड हेर्दा सिरहा ४ को अवस्था पनि रोचक देखिन्छ। यहाँ राज किशोर यादव र अजय शंकर नायकबीच कडा प्रतिस्पर्धा छ। आइतबार दिउँसो ४:३० बजेसम्म राजपाका यादवले १६ हजार ४४ मत जोडेका छन्। नायकले भने १४ हजार ६ सय ९ मत ल्याएका छन्। 

पर्सा ३ मा कांग्रेस, फोरम र एमालेबीच टक्कर

पर्सा क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धी छन् सुरेन्द्रप्रसाद चौधरी, हरिनारायण प्रसाद रौनियार र राजकुमार गुप्ता। मतान्तरमा यी तिनैजना कहिले माथि त कहिले तल छन्। आइतबार दिउँसो ४:३० बजेसम्म नेपाली कांग्रेसका चौधरीले ७ हजार २ सय २५ मत ल्याएका छन्।

उनलाई पछ्याउँदै संघीय समाजवादी फोरमका रौनियारले ६ हजार ३ सय १३ मत ल्याएका छन्। उनलाई फेरि पछ्याइरहेका नेकपा एमालेका गुप्ताले ५ हजार ९ सय ४९ मत ल्याएका छन्।
 

पर्सा ४ मा रिजाल र कर्णको उस्तै

चुनावी मत गणनामा रोचक भिडन्त पर्सा ४ मा पनि देखिएको छ। यहाँ नेपाली कांग्रेसबाट रमेश रिजाल उम्मेदवार छन् भने राजपाबाट लक्ष्मणलाल कर्ण। यी दुई पनि कहिले अगाडि र कहिले पछाडि भइरहेका छन्, मत गणनामा। कांग्रेसका रिजालले ८ हजार २ सय ५७ मत ल्याएका छन्। राजपाका कर्णले ७ हजार ९ सय ४१ मत ल्याएका छन्।  



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell