काठमाडौं : हरेक निर्वाचनमा अब्बल ठहरिँदै आएका रामचन्द्र पौडेल यसपाला राजनीति कम व्यवसाय ज्यादा गर्ने कृष्णबहादुर श्रेष्ठ 'किसान'सँग ठूलै अन्तरले पराजित भए। भलाद्मी स्वभावका कृष्ण मिजासिला उम्मेदवार हुन् तर यतिकै कारणले उनले चुनावमा कांग्रेसका 'भेट्रान'लाई पराजित गरेका होइनन्। २०४८ सालदेखि लगातार संसदमा गरेको 'राज'बाट अब कम्तिमा ५ वर्षका लागि वनबासतिर जानुछ रामचन्द्रले। रामचन्द्रको संसदबाट 'वनबास'का यस्ता छन् कारण :
देउवासँग नजोडिएको मन
प्रधानमन्त्री बन्ने सपनामा सधैँ धोका पाएका रामचन्द्र पौडेल र पार्टी सभापति शेरबहादुर देउवाबीच मन मिल्ने वातावरण कहिल्यै बनेन। पौडेल सभापतिले उठाएका कदमको आलोचकका रुपमा सधैँ उत्रिए तर कहिल्यै पनि त्यसविरुद्ध विद्रोह गर्ने हिम्मत गरेनन्। गिरिजाप्रसाद कोइराला जीवित रहँदासम्म उनको गुटका अनुयायी रहेका पौडेलले कांग्रेसभित्र आफ्नो पकड कायम राख्न सधैँ कमजोर रहे। पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएका देउवालाई उनले सुरुमा सभापति हुने वचन दिएका थिए तर अन्तिममा गएनन्। पछि देउवा फर्केर पार्टीमा जोडिँदासम्म पनि रामचन्द्रले आफूलाई शक्तिशाली बनाएनन्। सुशील कोइराला सभापति रहुन्जेल पनि उनी सहयोगीकै भूमिकाबाट माथि उत्रिएनन्। जब सुशील कोइरालाको निधन भयो, त्यसपछि पनि उनी कोइराला परिवारको कोटरीबाट बाहिर आफूलाई स्थापित गर्नुभन्दा पनि डाक्टर शशांक कोइरालासँग जोडिएर बलियो बन्ने रणनीतिमा उभिए। पार्टी सभापतिका लागि शेरबहादुर देउवासँग भिड्दा शशांकबाट पनि उनी एक्लिए। यसले देउवा उनीसँग कहिल्यै सकारात्मक भएनन्। मन नमिल्दा उनलाई सभापतिबाट आवश्यक सहयोग भएन। सिंगो पार्टी कहिल्यै उनको पक्षमा उत्रेन।गोविन्दराज जोशीसँगको दुस्मनी
रामचन्द्र पौडेल यसपाला गोविन्दराज जोशीविरुद्ध यसरी खनिए कि आफै नै उजुरीको निवेदन बोकेर निर्वाचन आयोग पुगे। गोविन्दराज जोशी बागी उम्मेदवारका रुपमा उत्रिएपछि उनी जोशीलाई 'भ्रष्टाचारी' भएको भन्दै प्रतिकारमा उत्रिए। गोविन्दराज जोशीसँगको लामो समयको कलहलाई यसले थप मलजल गर्यो। मिलाउनुभन्दा शक्ति देखाउने चाहे उनले। हामी निर्वाचनका क्रममा तनहुँ पुग्दा रामचन्द्र पौडेल – गोविन्दराज जोशीको शक्तिलाई नजरअन्दाज गरिरहेको भेट्यौं। हामीसँगको कुराकानीमा उनले गोविन्दराज जोशीले केही असर पार्न नसक्ने दावी गरेका थिए। त्यही अवस्थामा हामी गोविन्दराज जोशीको घरमा पुग्दा उनी रामचन्द्रमाथि दया गर्ने मूडमा थिएनन्। हामीलाई गोविन्दराज जोशीले – 'हेर्दै जानुस् न' मात्र भनेका थिए। उनको संकेत मतपरिणामले देखायो पनि।