PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

कांग्रेसको हार : देउवालाई गाली कि ताली ?



सूर्य खड्का

कांग्रेसको हार : देउवालाई गाली कि ताली ?

२०४६ सालको जनआन्दोलन सफलता पछिको काठमाडौं खुल्लामञ्चमा आयोजित विजय सभामा ‘माले, मण्डले र मशालेहरु एकै हुन्’ भन्ने तत्कालीन कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइराला नै कुनैबेला कम्युनिष्टहरुका सहारा र सहयात्रामा जान्छन् भन्ने कल्पना विरलै गरिन्थ्यो। किनकि कोइराला हार्ड लाइनर कम्युनिष्ट विरोधी अग्ला कांग्रेस नेता थिए।

तर, २०४६ सालको जितलाई 'यो जीत पंचायतको पनि हो' भनेर खुल्लामञ्चबाट कुर्लेका कोइरालाले त्यसयता पूर्व पन्चहरुलाई खुल्ला स्वागत गरे। फलतः कांग्रेस २०४८ को आम चुनावमा एकमना सरकारको दाबेदार भयो। तत्कालीन परम्परागत शक्ति पूर्व पन्चहरुलाई चारतारे नयाँ सरदार बनाएरै कांग्रेस शक्तिमा उदाएको थियो।

२०६१ मा राजा ज्ञानेन्द्रले सत्ताको वागडोर आफ्नो हातमा लिएपछि सत्ता हत्याउने लालसाले नै गिरिजाप्रसाद कोइरालाले तत्कालीन विद्रोही माओवादीसँग शान्तिको हात मिलाएका थिए।

दोस्रो जन आन्दोलनको लक्ष्य र सीमा निरंकुश राजतन्त्रको अन्त्य मात्रै थियो, तर, सत्तामा आफ्नो पुनरोदय र पहिलो राष्ट्रपति हुने उधारो लालसामा गिरिजाले अन्ततः गणतन्त्र नै स्विकारे। 

तर, दुर्भाग्य उनी पहिलो राष्ट्रपति हुन चुके, माओवादीका चतुर अध्यक्ष प्रचण्डको रणनीतिक शिकार बने। उतिबेला राजा ज्ञानेन्द्रसँगको शक्ति संघर्षमा ज्ञानेन्द्रको तुजुक झार्न माओवादीको हात र साथमा पुगेको कांग्रेस त्यसयता भने माओवादीको साहरामा निर्भर भएर मात्रै सत्ताका लागि योग्य हुने वाध्यात्मक स्थितिमा धकेलियो। तत्कालीन संसदीय गणित र राजनीतिक परिवर्तनका मुद्धाहरुका कारण।

सुशील कोइरालाको नेतृत्वमा २०७२ असोज ३ मा संविधान जारी गर्नेदेखि स्थानीय र प्रदेश तथा संसदीय आम चुनाव गराएर संविधान कार्यान्वयन गराउन कांग्रेसले हासिल गरेको दुर्लभ सफलता उसको एकल राजनीतिक पौरख होइन तर माओवादी साथमा उसको युगिन नेतृत्व जरुर हो।

अहिले प्रदेश सभा र संसदको आम चुनाव २०७४ मा कांग्रेस जुन स्तरको हार सामना गरिरहेको छ, त्यो उसको माओवादीसँगको सहकार्यमा लागेको आकस्मिक ब्रेकको सिधा परिणति नै हो।

एकाथरी मानिसहरु मंसिर १० र २१ को चुनावी सुनामीले ल्याएको लालक्रान्तिले कांग्रेस बढारियो भन्दैछन्। तर, संसदीय लालक्रान्तिको अभ्यास त संविधान जारीसँगै विस्थापित भएको सुशील कोइराला सरकार पतनताका नै भएको थियो।

किनभने कांग्रेसले त्यतिबेला एकातिर सबैभन्दा ठूलो वाम दललाई सत्ता सहयात्राको आलोपालो सरकारको बाचा बन्धन तोडेर आफू पुरिने खाल्डो खनिरहेको थियो। त्यसको बदलामा एमालेले सडकमा रहेको माओवादीको हात समाएर कांग्रेसलाई प्रतिपक्षमा मात्रै धकेलेन, आफै वाम गठबन्धन सरकारको नेतृत्वमा उदायो, अध्यक्ष केपी ओलीको कमाण्डमा।

कांग्रेसले २०६५ जेठ १५ मा राजा फालेर गणतन्त्र माओवादीको साथमा ल्याएकोले  कुनै पनि बेला आफ्नो सहयात्राबाट दायाँबायाँ लाग्ला भनेर सधै चनाखो हुनु अपरिहार्य थियो सधै। तर, उसले केपी ओली सत्ताको उदयमा एकातिर एमालेलाई सत्ता सहकार्यमा धोका दिएर बिच्क्यायो भने अर्कोतिर आफैले मंसिर ५, २०६३ को शान्ति संझौता मार्फत् शान्ति राजनीतिमा फर्काएको माओवादीलाई एमालेसँग सत्ता सहवासको अनुभव बटुल्न छोडिदियो। 

गणतन्त्रमा गैसकेपछि कांग्रेसले एकातिर पूर्व राजावादीहरुलाई २०४६ सालमा जस्तो सिधै आश्रय दिएन भने गणतन्त्रको सारथी माओवादीलाई समेत काखी च्यापेन। मास बेस्ड दल कांग्रेसले कमल थापा जस्ता अवसरवादीलाई चम्किन दिने गरी परम्परागत शक्तिसमूहलाई नजरअन्दाज गरिरहँदा र माओवादीलाई दिगो यात्रामा सामेल गर्न नसक्दा आन्तरिक दलीय शक्तिलाई समेत सदावहार स्पाती बनाउने जाँगर देखाएन।

कांग्रेसले अहिले व्यहोरिरहेको जारी हारको सुरुवात उतिबेलै माओवादी एमालेको सत्ता सहयात्राको ९ महिने अभ्यासमा भएको हो। किन भने दुई ठूला वाम दललाई मिलाउने गल्ती कांग्रेसको उसबेलैको नेतृत्वले गरेकै हो, चाहे जे सुकै कारणले किन नहोस्। भलै वर्तमान सभापति शेर बहादुर देउवाले ढिलै भए पनि ओली सत्ताबाट माओवादीलाई फुत्काउन सफल भने भए। यद्यपि यसमा उतिबेला ओली प्रचण्डको जुँगे वार नै ओली सत्ता पतनको मूल कारण थियो।

जतिबेला आफ्नो समर्थनमा देउवाले प्रचण्डलाई सत्तारुढ बनाए,तबदेखि नै कांग्रेसले आफूलाई सत्तामूखि नभई आमचुनावमूखि बनाउन आवश्यक थियो। तर ३ पटक प्रधानमन्त्री भैसकेका सभापति देउवाले आफ्नो ध्यान प्रधानमन्त्री हुनमा दिए। यो नै कांग्रेसको महाभूल थियो।

प्रचण्डलाई स्थानीय, प्रदेश र संसदसम्मको चुनावी सरकारको नेतृत्वमा देउवाले निरन्तरता दिएका हुन्थे भने शायदै प्रचण्ड वाम एकताका लागि अग्रसर हुन्थे र न नै वामदेव गौतमहरुको वाम एकताको खेल व्यूतिन्थ्यो।

तर, देउवालाई प्रचण्डलाई सत्ताबाट हटाएर आफू सत्तामा जार्नै पर्ने जुन भूत चढ्यो त्यहीबाट कांग्रेस सत्तामूखि र वामपन्थीहरु चुनावमूखि बने। प्राकृतिक रुपमा नै स्वभाविक छ, दुई ठूला वाम एक हुँदा कांग्रेस चुनावी साइजमा खुम्चिएको छ। त्यसैले माओवादीलाई सत्ताबाट हटाएर चुनावी सरकारमा जाने गल्तीको दण्ड उसले एकातिर आफ्नो गणतान्त्रिक सहयात्री माओवादी गुमायो भने प्रतिष्पर्धी एमालेलाई चुनावी जीतको बाटो खोलिदियो।

यस राजनीतिक धरातलमा कांग्रेसीहरुले अहिले व्यहोरिरहेको हार एकातिर जनभावना विपरितका सत्तामूखि राजनीति र अर्कोतिर बढ्दो वाम शक्तिको समयमा नै पूर्व आंकलन गरेर काउन्टर रणनीति तर्जुमा गर्न नसक्ने कमजोरी नै हुन्। त्यसैले अहिलेको वाम विजयलाई कांग्रेसले आफै किस्तीमा राखेर दिएको मौका भनिदिँदा फरक नपर्ला।
अन्य कारणहरु त स्वयं चारतारेवालाहरुले काठे, चोठे र रेष्टुँरे स्तरमा निर्मम समीक्षा गरिरहेकै छन्।

इतिहासको नायक देउवा र कांग्रेस नै 

जसले जे सुकै भने पनि मंसिर १० र २१ को दिनमा रचिएको नेपाली लोकतान्त्रिक अभ्यासको घरेलु इतिहासका नायक भने निसन्देह सरकार प्रमुख भएका कारण कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन्। किन भने नयाँ संविधानले तोकेको समयसीमा भित्रै नयाँ प्रदेश सभा, प्रतिनिधि सभा र सरकार गठनका लागि उनले सहजतापूर्वक नयाँ आम चुनाव सम्पन्न गराए।

अनेकौं आशंका र अनगिन्ती प्रतिकूलताहरुलाई चिर्दै चुनाव शान्तिपूर्ण उत्साहका साथ जनउत्सवका रुपमा सम्पन्न गराउने सरकारको प्रधानमन्त्री हुनु देउवाको निजी जित मात्रै होइन, कांग्रेस पार्टी, आम जनता, व्यवस्था, संविधान र देशै जितेको अवस्था हो। यस अर्थमा नयाँ गणतान्त्रिक नेपालको संस्थागत विकासका लागि यो देउवा सत्ताकालको स्वर्णकाल नै हो। यस अर्थमा आफै हारेर पनि देउवाले जितेका छन र इतिहासको आलोकमा हिरो सावित भएका छन्।

भन्नेहरु त भन्थे, आफैले हार्ने चुनाव गराउन देउवा तयार छैनन्। होइन भनेर त देखाइसके देउवाले। किन भने पार्टीको संभावित हारको त्रासका बीच उनले संविधान कार्यान्वयनको अन्तिम चुनाव आफ्नै कप्तानीमा गरेर इतिहास रचिसकेका छन्।

गिरिजाप्रसाद कोइरालालाको बलमा आएको गणतन्त्रलाई सुशील कोइरालाले संविधान जारी मार्फत् सार्थक बनाए। अहिले दुवै स्वर्गवासी कांग्रेस सभापतिको अधुरो र चुनौतिपूर्ण कार्यभार भने वर्तमान सभापति देउवाले पूरा गरे। लोकतान्त्रिक गणतन्त्रको संस्थागत अभ्यासमा यो कांग्रेसको नेतृत्वले पाएको सफलता इतिहासकै नयाँ अध्याय हो र रहिरहने पनि छ कम्तिमा नेपाली आकाशमा गणतन्त्रको नारा घन्किउन्जेलसम्म।

एकैछिन कल्पना गरौं, वाम गठबन्धनको अप्रत्याशित प्रहार झेल्न देउवाले चुनावी रोडम्यापमा चट्टानी अडान नलिइदिएको भए, आज के स्थिति पैदा हुन्थ्योरु यसै उसै चुनावी समरमबाट भगाउन देउवामाथि पार्टीभित्र र बाहिरबाट दृश्य अदृश्य धेरै दबाबहरु थिए नै। तै पनि आफैले सत्ताबाट हात धुनुपर्ने लगभग निश्चित परिस्थतिमा पनि देउवाले त्यो चुनाव गराए, जसले यो व्यवस्था र संविधानको रक्षा र सम्वर्धनमा एक युगिन कोशेढुंगा थपेकै छ। 

स्वभावैले सत्तामा बस्ने पार्टीले अक्सर चुनाव जित्ने गर्दैन , त्यसमा पनि पछिल्ला सत्ताकालमा देउवा जनताको मन जित्ने सुशासन डेलिभर गर्न सफल भएनन्। कतिपय शासकीय भूलले पार्टी जनताको बीचमा लोकप्रिय हुन सकेन।

यही हो उनको नेतृत्वमा कांग्रेसको दुखद् पाटो। अन्यथा देशभरका कांग्रेस घटेका होइन्न, वाम जस्तै एकगठ भएर चुनाव जित्न, जिताउन लागि नपरेका मात्रै हुन्। त्यसैले पार्टीले एक झमटको आम चुनाव हारेकै भरमा कांग्रेस देशैबाट बढारियो भन्ने आंकलन वा विश्लेषण धरातलीय यथार्थ हुन सक्दैन। यस मानेमा पनि देउवाले स्यावासी नपाउनुपर्ने कारण छैन।

सच्चिने अवसर

यही पराजयले कांग्रेस २००७ सालको नेपाल प्रजापरिषद वा पूर्व कांग्रेसी कुवेर शर्माको हरियाली पार्टीमा रुपान्तरित हुने बाटोमा छैन। यो बरु आम देशैभरका कांग्रेसका लागि वाम गठबन्धनबाट सवक सिक्ने उत्तम दुखद् अवसर हो। 

सत्तारुढ नेपाली कांग्रेस वाम गठबन्धनभन्दा निकै पछाडि देखिएको परिप्रेक्ष्यमा सभापति तथा प्रधानमन्त्री देउवा आलोचना र प्रहारको निशानामा परिसकेका छन्। नैतिकताको आधारमा उनको राजीनामा माग्ने सामाजिक संजाल र केही स्थापित विश्लेषकहरुको विचार प्रवाह भैरहेको छ।

वाम गठबन्धनको प्रमुख घटक एमालेले सबैभन्दा धेरै स्थानमा अग्रता कायम राख्दै गर्दा अर्को घटक माओवादी केन्द्र दोस्रो स्थानमा रहेको निर्वाचन परिणामको अलोकमा पनि सभापति तथा प्रधानमन्त्री देउवा प्रहारको निशानामा छन्। 

कांग्रेसले राप्रपा, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल र राजपा जस्ता नयाँ दलभन्दा मात्रै आफू माथि र अगाडि राख्ने मतपरिणाम पाउनु उत्साहजनक मतादेश होइन नै। तर यतिकै भरमा कांग्रेसीहरुले राजनीतिक सन्यासको साथ काशीको बाटो लागिहाल्नुपर्ने होइन नै। 

यदि यो चुनावी मतादेश बमोजिम देश सम्वृद्धि यात्रामा गयो भने अब संक्रमणकालको अन्त्य भयो समूल रुपमा, त्यो पनि देउवा र कांग्रेसकै नेतृत्वमा। यही हो हारलाई पाठ र कमजोरीलाई सच्चाइको अवसर बनाउने कांग्रेसजनका लागि मतादेशको निर्मम शिक्षा।

अब निर्वाचित जन प्रतिनिधिहरुले गणतन्त्रका रक्षाका लागि कम्तिमा ५ वर्ष सैन्य भूमिका निर्वाह गर्नेछन्। संघीयता कार्यान्वयनमा गएको छ भने संविधानले सर्वस्वीकार्यताको दायरा बढाएको छ। सीके राउतदेखि जयकृष्ण गोइत र नेत्रविक्रम चन्द विप्लवहरुलाई अपवाद मान्ने हो भने यो संविधान अब सर्वस्वीकार्यताको कसीमा अव्वल र सर्वसम्मत साबित भएको छ। देउवाको नायकत्वको मूल सफल पक्ष यही हो, हिजो, आज र भोलिसम्मका लागि। कांग्रेसले चुनाव हारेर रचेको नयाँ युगिन इतिहास यही हो भावी पुस्तासम्मका लागि।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell