
लिग लिडर बार्सिलोनाले ला लिगामा ५ अंकको अग्रता बनाएको छ। गएराती भएको खेलमा दश खेलाडीमा झरेको भियारियललाई २-० ले पराजित गर्दै बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ।
बार्सिलोनाले अन्तिम १८ मिनेटमा दुई गोल गरेको थियो। त्यसअघि ६०औँ मिनेटमा ड्यानिएल रबाले सिधै रातो कार्ड पाएपछि भियारियल घरेलु मैदानमा दश खेलाडीमा झरेको थियो। त्यसैको फाइदा उठाउँदै बार्सिलोनाले दुई गोल गरेको हो।
बार्सिलोनाका लागि लुइस सुवारेजले ७२ तथा लियोनल मेसीले ८३औँ मिनेटमा गोल गरे।
जितपछि १५ खेलबाट ३९ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियामाथि ५ अंकको अग्रता कायम गरेको छ। भ्यालेन्सियाको समान खेलबाट ३४ अंक छ।
यस्तै रियल बेटिसलाई १-० ले पराजित गर्दै एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लेको छ। एथ्लेटिकोका लागि सउल निगेजले निर्णायक गोल गरे।
१५ खेलबाट एथ्लेटिकोको ३३ अंक भएको छ। समान खेलबाट ३१ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा छ।