PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

यी हुन् पर्सालाई कांग्रेस-एमाले-माओवादी मुक्त बनाउने महारथीहरु



बीपी साह

यी हुन् पर्सालाई कांग्रेस-एमाले-माओवादी मुक्त बनाउने महारथीहरु

काठमाडौं : दुई नम्बर प्रदेशको सम्भावित औद्योगिक राजधानीको रुपमा चर्चामा रहेको वीरगञ्जसहित पर्सा जिल्ला नै गैर मधेशी दल मुक्त बनेको छ। पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा मधेशी गठबन्धन विजयी भएका छन्।

चारमध्ये तीनवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ भने एउटा क्षेत्रमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जितेको छ। मधेशी गठबन्धनमा सिट बाँडफाँडका क्रममा पर्साको तीनवटा फोरमको र एउटामात्र राजपाको भागमा परेको थियो।

पर्साको निर्वाचन क्षेत्र एकमा फोरम नेता प्रदिप यादव विजयी भएका छन्। राजावादी निकट संगठनबाट राजनीति सुरु गरेका यादव दोस्रो मधेश आन्दोलन पछि मधेशी जनअधिकार फोरम नेपालमा लागेका थिए। वीरगञ्जमा दवंग छवी बनाएका यादव विभिन्न व्यवसायिक प्रतिष्ठानमा समेत संलग्न छन्। उनी फोरमको पर्सा जिल्ला अध्यक्ष समेत हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई पराजित गरेका छन् जो व्यवसायी हुन्।

पर्सा दुईमा फोरम कै विमल श्रीवास्तव विजयी भएका छन्। यसअघि स्थानीय निकायको निर्वाचनमा राजपाबाट मेयरको टिकट नपाएका श्रीवास्तव फोरम लोकतान्त्रिकबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका थिए। उनले नराम्ररी पराजित व्यहोर्नु परेको थियो।

उनी पनि राजावादी थिए। पञ्चायती व्यवस्थाको समयमा पनि उनी वीरगञ्जका मेयर हुँदै लगातार मेयर बनेका थिए। प्रतिनिधि सभाको निर्वाचनअघि उनी फोरम नेपालमा प्रवेश गरेका थिए। उनले पनि नेपाली कांग्रेसकै उम्मेदवार अजय कुमार चौरसियालाई पराजित गरेका हुन्।

पर्सा तीनबाट पनि फोरम नेपाल कै उम्मेदवार हरिनारायण प्रसाद साह रौनियार विजयी भएका छन्। निर्माण व्यवसायि रौनियार प्रतिनिधि सभाको निर्वाचन अघि मात्र फोरम नेपालमा प्रवेश गरेका थिए। त्यसअघि उनी सक्रिय राजनीतिमा थिएनन्। उनले पनि नेपाली कांग्रेस कै सुरेन्द्र प्रसाद चौधरीलाई पराजित गरेका छन्।

पर्सा चारबाट राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता लक्ष्मण लाल कर्णले चुनाव जितेका छन्। कर्णले पहिलो पटक प्रत्यक्ष निर्वाचन जितेका हुन्।

वकालत पेसमा रहेका कर्ण मधेशवादी राजनीतिमा आएका थिए। पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट समानुपातिक सांसद भएका थिए। एक पटक उनी विना विभागीय मन्त्रीसमेत भइसकेका हुन्।

कर्णले पनि नेपाली कांग्रेस कै रमेश रिजाललाई पराजित गरेका हुन्। ठोरीसहितको पहाडी बाहुल्य रहेको कर्णको क्षेत्रमा वाम गठबन्धन तेस्रो स्थानमा रहेको थियो।

रोचक कुरा के छ भने पर्सामा चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस नै प्रतिस्पर्धामा थियो।

चारवटै क्षेत्रमा मधेशी गठबन्धनले विजयी हासिल गरेपछि पर्सा कांग्रेस, एमाले र माओवादी मुक्त क्षेत्र बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell