
काठमाडौं: काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १५ औं संस्करण विहीबार मंसिर २८ गतेबाट सुरु हुँदैछ। पाँच दिन लामो किम्फमा योपटक ३७ देशका डकुमेन्ट्री, सोसियल ड्रामा, एनिमेटेड, सर्ट फिल्म लगायत अन्य फरक विधाका फिल्महरु देखाइने बताइएको छ। जीवनशैली, वातावरण, साहसिक खेल, पर्वतारोहण, पर्वतीय समाज, संस्कृती आदी विषयका कथा समेटिएको फिल्महरु देखाइन लागेको हो।
किम्फ २०१७ मा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ १५ फिल्म रहेको आयोजकले जानकारी दिए। त्यस्तै प्रतिस्पर्धा बाहेक अन्य ४८ फिल्म प्रदर्शन हुनेछन् भने नेपाल पानोरोमा अन्तर्गत यो वर्षका लागि १५ फिल्म रहने बताइयो। अन्तराष्ट्रिय प्रतियोगितातर्फत प्रथम हुनेले १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई एक हजार डलर र तेस्रो हुनेलाई पाँच सय डलर दिने आयोजकले बताएको छ। नेपाल पानोरोमामा भने आख्याेन र गैर आख्यान दुई विधाका विजेतालाई ७५ हजार र ५० हजार नगद पुरस्कार राखिएको छ।
काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलमा योपटक 'डक पिच सेसन' पनि हुनेछ। जुन प्रतिस्पर्धात्मक सेसन हो। यसमा डकुमेन्ट्री निर्माताले आफूले बनाउँदै गरेको डकुमेन्ट्री बारे जानकारी मुलक प्रस्तुति दिनेछन्। सेसनको विजेताले २ हजार डलर प्राप्त गर्नेछन्।
किम्फ प्रिमियर 'द लास्ट हनी हन्टर' नामक फिल्मबाट हुनेछ। ३५ मिनेट लामो फिल्मलाई बेन नाइट्लीले निर्देशन गरेका हुन्। फिल्मलाई नेसनल जेयोग्राफीको सहकार्यमा निर्माण गरिएको हो। जसको छायांकन नेपालकै भोजपूरमा गरिएको छ। त्यस्तै फेस्टिभलको समापन भने ३ गते 'हेमा हेमा: सिङ मि अ सङ ह्वाइल आइ वेट' देखाएर हुनेछ। फिल्मलाई जोङ्सार जामयाङले निर्देशन गरेका हुन्।