PahiloPost

May 14, 2024 | १ जेठ २०८१

२ नम्बरमा कसको अवस्था कस्तो? वाम मुक्त गर्न खोज्दा झन्डै कांग्रेस मुक्त!



बीपी साह

२ नम्बरमा कसको अवस्था कस्तो? वाम मुक्त गर्न खोज्दा झन्डै कांग्रेस मुक्त!

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनबाट दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) सबै भन्दा ठूलो दल बनेको छ। 

दुई नम्बर प्रदेशको सर्लाही चारको मत परिणाम आउनुअघि नै राजपाले दश सिट ल्याउँदै प्रदेशमा अग्रता हासिल गरेको छ। संघीय समाजवादी फोरम नेपाल दोस्रो स्थानमा छ। फोरमले ९ सिट जितेको छ।

तेस्रो स्थानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छन्। दुवैले पाँच/पाँच सिट ल्याइसकेका छन्। सर्लाही चारमा कांग्रेसका उम्मेदवार डा. अमरेश सिंह राजपाका उम्मेदवार राकेश मिश्रसँग झिनो मतान्तरले पछि छन्।

दुई नम्बर प्रदेशमा पाँचौं स्थानमा छ एमाले। बाँकी ६ प्रदेशमा लिड गरेको उसले यस प्रदेशमा भने जम्मा दुई स्थानमा जितेको छ।

गठबन्धनका आधारमा हेर्ने हो भने मधेशी गठबन्धनले सबैभन्दा बढी सिट (३२ सिट मध्ये १९) ल्याएको छ। परिणाम आउन बाँकी एक सिटमा पनि मधेशी गठबन्धनकै अग्रता छ। 

त्यस्तै, दोस्रो स्थानमा वाम गठबन्धन रह्यो। वाम गठबन्धनले सात सिट हात पारेको छ। लोकतान्त्रिक गठबन्धन भने तेस्रो स्थानमा रहेको छ।

 

क्रम संख्या

राजनीतिक दलको नाम

जित हासिल सिट संख्या

राष्ट्रिय जनता पार्टी  १०
संघीय समाजवादी फोरम नेपाल
नेपाली कांग्रेस
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र
नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्सवाद लेनिनवाद
अनिर्णित
 

जिल्लागत कसको कस्तो अवस्था ?

सप्तरी
क्षेत्र नम्बर एकमा फोरमका डा. सूर्यनारायण यादवले माओवादीका अशोक कुमार मण्डललाई पराजित गर्दै विजयी भए। यादव पेशाले चिकित्सक हुन् सँगै मिडिया व्यवसायी पनि। उनी पहिलो पटक चुनावमा उठेका हुन्। 

दुईमा पनि फोरम अध्यक्ष उपेन्द्र यादवले माओवादीका उमेश कुमार यादवलाई पराजित गर्दै विजयी भए। अध्यक्ष यादव सप्तरीबाट पहिलो पटक चुनावमा उठेका हुन्। वाम गठबन्धनका नेता उमेश कुमार यादव संसदभित्र कुर्सी हानेर चर्चित थिए। तर, मधेश मुद्दालाई संस्थागत गर्ने उपेन्द्र यादवका अगाडि उनको केही लागेन।   

तीनमा राजपाका चन्द्रकान्त चौधरीले कांग्रेसका दिनेश कुमार यादवलाई पराजित गर्दै जित हासिल गरे। 

चारमा कांग्रेसका तेजुलाल चौधरी राजपाका मृगेन्द्र सिंहलाई हराउँदै विजयी भए। थारु बाहुल्य क्षेत्रबाट जितेका चौधरीको काठमाडौंमा व्यवसाय छ। उनको स्कुलमा समेत लगानी। फोरम नेपालका नेता रेणु यादव उक्त क्षेत्रबाट चुनाव उठ्दै आएकी थिइन्। र, सिंह पनि उक्त क्षेत्रकै हुन्। दुवै नेताबीच पुरानो दुस्मनी रहँदै आएको छ। 


सिरहा
क्षेत्र नम्बर एकमा कांग्रेस नेता प्रदीप गिरिले एमालेका गंगाप्रसाद यादवलाई पराजित गर्दै निर्वाचित भएका छन्। मधेश आन्दोलनको उदगम स्थल सिराहामा गिरिलाई अत्याधिक मत पर्योि। उनको जितमा 'संविधानमा हस्ताक्षर नगर्नु' एउटा महत्वपूर्ण आधार थियो। 

क्षेत्र नम्बर दुईमा माओवादीका सुरेशचन्द्र दासले फोरमका सत्रुघन प्रसाद सिंहलाई हराए। 

तीनमा एमालेका लीलानाथ श्रेष्ठले फोरमका अमेश्वर यादवलाई पराजित गरे। यस क्षेत्रमा पहाडी मतदाताको संख्या उल्लेख्य छ।

चारमा राजपाका राजकिशोर यादवले माओवादीका अजय शंकर नायकलाई पराजित गरे। यादव राजपा अध्यक्ष मण्डलका सदस्य हुन् भने नायक पूर्व कानुन मन्त्री। 

धनुषा
क्षेत्र नम्बर एकमा माओवादीका मातृका यादवले फोरमका दीपक कार्कीलाई पराजित गर्दैछन्। यादव करिब सात हजार मतले अगाडि रहँदा गन्न बाँकी मत जम्मा ३ हजार मात्र छ। यादव पूर्वमन्त्री पनि हुन्। 

दुईमा फोरमका उमाशंकर अरगरियाले माओवादीका रामचन्द्र झालाई पराजित गरे। विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका दुई नम्बर प्रदेशका इन्चार्ज रहेको अरगरिया गच्छदार कांग्रेस प्रवेश गरेपछि फोरम फर्किएका थिए। पहिलो मधेश आन्दोलनदेखि नै अरगरिया फोरममा सक्रिय थिए। 

तीनमा राजपाका राजेन्द्र महतोले कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरे। वाम गठबन्धनले महतोलाई सहयोग गरेपछि निधिले हार बेहोरे।
चारमा एमालेका रघुवीर महासेठले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गरे। यादव खानेपानी मन्त्री हुन् भने महासेठ पूर्व मन्त्री।

महोत्तरी
क्षेत्र नम्बर एकमा माओवादीका गिरिराजमणि पोखरेलले फोरमका लक्ष्मी महतोलाई पराजित गरे। बर्दिवाससहित पहाडी बाहुल्य क्षेत्रमा पोखरेल विकासप्रेमी नेताका रुपमा परिचित छन्।

दुईमा राजपाका शरतसिंह भण्डारीले कांग्रेसका किरण यादवलाई हराए। यादव पूर्वसांसद हुन् भने राजपाका अध्यक्ष मण्डलका सदस्य भण्डारी बारम्बार मन्त्री बन्दै आएका छन्। 

तीनमा राजपाका संयोजक महन्थ ठाकुरले एमालेका विजयकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गरे। ठाकुरलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो।

चारमा डा. सुरेन्द्र यादवले कांग्रेसका महेन्द्रकुमार रायलाई पराजित गरे। चिकित्सक यादव स्वास्थ्य व्यवसायीसमेत हुन्। 

सर्लाही
क्षेत्र नम्बर एकमा राजपाका प्रमोद साहले एमालेका ध्रुबप्रसाद गौतमलाई पराजित गरे। उक्त क्षेत्र राजपाका नेता राजेन्द्र महतोको हो। करिब ३० प्रतिशत पहाडी मतदाता रहेको उक्त क्षेत्रबाट हार्ने सम्भावना देखेपछि महतो धनुषा गएका हुन्। 

दुईमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले कांग्रेसका जंगिलाल राय यादवलाई पराजित गरे। 

तीनमा माओवादीका रामेश्वर राय यादव कांग्रेसका हरेश प्रसाद महतोलाई हराउँदै निर्वाचित भए। गच्छदार नेतृत्वको फोरममा रहेका यादव स्थानीय निकायको निर्वाचनअघि माओवादी प्रवेश गरेका थिए। उनी पूर्वमन्त्रीसमेत हुन्।

चारमा राजपाका राकेश कुमार मिश्र कांग्रेसका डा. अमरेश सिंहभन्दा एक हजार मतान्तरले अगाडि रहेका छन्। मिश्र पहिलो पटक निर्वाचनमा उठेका हुन् भने सिंह यसअघि त्यस क्षेत्रबाट चुनाव जितेका।

रौतहट
क्षेत्र नम्बर एकमा राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले कांग्रेसका कृष्णा यादवलाई पराजित गरे। झा यसअघि एमाले नेता माधव कुमार नेपालसँग पराजित भएका थिए।

दुईमा कांग्रेसका मोहम्द अफताब आलम फोरमका किरण कुमार साहलाई पराजित गरी विजयी भए। उक्त क्षेत्रमा मुस्लिम मत निर्णायक हो। उक्त क्षेत्रमा पहिले मामा भान्जा अर्थात अफताब र मुस्ताक राजाबीच प्रतिस्पर्धा हुँदै आएको थियो। 

तीनमा माओवादीका प्रभु साहले कांग्रेसका सुनिल कुमार यादवलाई पराजित गरे। विना विभागीय मन्त्री साह त्यस क्षेत्रमा विकासप्रेमी नेताका रुपमा चिनिन्छन्। संविधानमा हस्ताक्षर नगरी मधेशी सेन्टमेन्ट पनि कमाएका छन् उनले। 

चारमा नेपाली कांग्रेसका देवप्रसाद तिमलसिनाले एमालेका डाक्टर वंशीधर मिश्रलाई हराए। चन्द्र निगाहपुर सहित पहाडी बाहुल्य क्षेत्र हो यो।

बारा
क्षेत्र नम्बर एकमा कांग्रेसका उमाकान्त चौधरी एमालेका अच्युतप्रसाद मैनालीलाई पराजित गर्दै विजयी भए। 

दुईमा फोरमका रामसहाय प्रसाद यादवले कांग्रेसका राधेचन्द्र यादवलाई पराजित गरे। रामसहाय शिक्षण पेशामा थिए भने मधेश आन्दोलनबाट उनी राजनीतिमा आएका थिए। उनी फोरम नेपालका महासचिव हुन्। 

तीनमा फोरमका रामबाबु कुमार यादव एमालेका उदयानन्द पाण्डेलाई पराजित गर्दै विजयी भए। 

चारमा राजपाका एकवाल मिया एमालेका देवनारायण थारुलाई हराउँदै विजयी भए। 

पर्सा
क्षेत्र नम्बर एकमा फोरमका प्रदीप यादवले कांग्रेसका अनिल रुगंटालाई पराजित गरे। यसअघि यादवले उक्त क्षेत्रबाट चुनाव हारेका थिए। दवंग छवीका यादव मधेश आन्दोलनमा सक्रिय नेता हुन्।

दुईमा फोरमका विमल श्रीवास्तवले कांग्रेसका अजय चौरसियालाई पराजित गरे। श्रीवास्तव यसअघि वीरगंज उप महानगरपालिकाको मेयरको चुनावमा पराजित भएका थिए। र, प्रतिनिधि सभाको निर्वाचनअघि मात्र फोरममा प्रवेश गरेका थिए। 

तीनमा फोरमका हरिनारायण प्रसाद साह रौनियारले कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई पराजित गरे। रौनियार निर्माण व्यवसायी हुन्। उनी पहिलो पटक निर्वाचनमा उठेका हुन्। 

चारमा राजपाका लक्ष्मणलाल कर्णले कांग्रेसका रमेश रिजाललाईं हराउँदै जित हात पारे। वकालत पेशाबाट मधेश राजनीतिमा लागेको कर्ण दुई पटक समानुपातिक सांसद भइसकेका हुन्। उनी एकपटक विना विभागीय मन्त्रीसमेत् भइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell