PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

ठमेल ओपन टेबलटेनिस : प्रहरीलाई मिक्स टिम उपाधि



पहिलोपोस्ट

ठमेल ओपन टेबलटेनिस : प्रहरीलाई मिक्स टिम उपाधि

काठमाडौं : नेपाल प्रहरी क्लबले हुवाइ इम्प्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स टिम इभेन्टको उपाधि सोमबार जितेको छ। प्रहरीले नेपाल एपीएफ क्लबलाई १७–५ ले पराजित गरेको हो। मिक्स टिममा समान ५–५ पुरुष र महिला खेलाडी थिए।

मिक्स टिमको पुरुष सिंगल्समा प्रहरीका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले एपीएफका अमरलाल मल्ललाई २–१, महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले एपीएफकी सेलिशा खड्गीलाई ३–०, पुरुष डबल्समा प्रहरीका श्यान्टु र विनेश खनियाको जोडीले एपीएफका अमर र शिवसुन्दर गोथेको जोडीलाई २–१, मिक्स डबल्समा प्रहरीका दीप साउन र नविताको जोडीले एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवालको जोडीलाई ३–०, पुरुष सिंगल्समा प्रहरीका दीपले एपीएफका पुरुषोत्तमलाई २–१ तथा महिला सिंगल्समा प्रहरीकी एलिना महर्जनले एपीएफकी अन्जु सुवाललाई ३–० ले पराजित गरे।

अर्को पुरुष सिंगल्समा भने एपीएफका शिवले प्रहरीका विनेश खनियालाई २–१ ले हराए। महिला डबल्समा प्रहरीका एलिना र मन्जु सुवालको जोडीले एपीएफका सेलिशा र अनिता महर्जनको जोडीलाई पहिलो सेट ११–१ ले जितेपछि प्रहरी टिमले बाँकीका खेलहरु खेल्नु परेन।

मिक्स टिममा जुन टिमले अगाडि १७ अंक हासिल गर्छ उसैलाई विजेता घोषणा गर्ने प्रावधान अनुरुप बाँकी रहेका खेलहरु अगाडि नबढाइएको हो। मिक्स टिममा एक सेट जित्ने टिमलाई १ अंक दिने प्रावधान थियो।

सोमबारै भएको दोश्रो क्लालिफायरमा एपीएफले नेपाल आर्मी क्लबलाई १७–१० ले हराउँदै प्रहरीसंग उपाधि भिडन्त पक्का गरेको थियो। प्रहरीले भने आइतबारै पहिलो क्वालिफायरमा आर्मीमाथि १७–१० को जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो।

सात टिम सहभागी मिक्स टिममा आर्मीले तेश्रो स्थानमा चित्त बुझायो। शीर्ष तीन स्थान हात गर्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।

यसअघि पुरुष सिंगल्समा प्रहरीका श्यान्टु पहिलो, प्रहरीकै दीप दोश्रो र एपीएफका पुरुषोत्तम तेश्रो भएका थिए। सोही स्पर्धाको महिलामा प्रहरीकी नविता पहिलो, नविताकी नन्द प्रहरीकै एलिना दोश्रो र आर्मीकी स्वेच्छा नेम्वाङ तेश्रो बनेका थिए। पुरुष-महिला दुवै सिंगल्समा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार हात पारे।

त्यस्तै यु–१६ सिंगल्सको ब्वाइजमा एपीएफका सन्योग कपाली, एपीएफकै एलेक्स महर्जन तथा यल स्पिनका डिकेन महर्जन पहिलोदेखि तेश्रो हुँदै क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए। त्यसै स्पर्धाको गर्ल्समा आर्मीकी दीक्षा दाहालले स्वर्ण, वज्र युनियनकी स्मृति पन्तले रजत र एपीएफकी अन्जु सुवालले कांस्य जिते। गर्ल्स पनि ब्वाइज सरहनै नगद पुरस्कार पाए।

विजेतालाई हुवाइका कन्ट्री डाइरेक्टर जोयेस जु, हुवाइका निर्देशक पुल्कित भिम्सेरिया, टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षकद्वय रमेशराज जोशी र वृजेन्द्र हमाललगायतले पुरस्कृत गरे। इम्प्याक्ट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा मंसिर १७ गतेदेखि भएको प्रतियोगितामा ८० खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell