PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

म्याग्दीका विनोद केसी ४ नम्वर प्रदेशमा निर्वाचित हुने कान्छा सांसद



रासस

म्याग्दीका विनोद केसी ४ नम्वर प्रदेशमा निर्वाचित हुने कान्छा सांसद

बाबियाचौर (म्याग्दी) : म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन्।

प्रदेश नं ४ अन्तर्गत म्याग्दी (क)मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ३३ वर्षीय केसी कान्छा सांसद बनेका हुन्। १४ हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका केसीका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो। केसीलाई एमाले र गौचनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो।

विसं २०४१ असार २४ गते जन्मेका बेनपा–८ निवासी केसी शहिद परिवारका सदस्य हुन्। उनका दाजु मदनको द्वन्द्वकालमा तत्कालीन शाही सेनाबाट हत्या भएको थियो। हाल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, बेनी नगर कमिटीका उपाध्यक्ष रहेका केसीले दाजु मदनबाट प्रभावित बनेर माओवादी राजनीतिमा सक्रिय भएको बताए।

दाजु दिवंगत भएपछि घरव्यवहार धान्नका लागि केसीले विसं २०६० देखि करिब पाँच वर्ष ट्याक्सी चालकका रुपमा काम गरे। म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष रहेका केसी यातायात व्यवसायी हुन्।

मध्यम वर्गीय परिवारका केसी जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्ष हुन्। प्रदेशसभा सदस्यमा विजयी भएपछि केसीले कसैप्रति पूर्वाग्रह नराखी सबै जिल्लावासीको साझा प्रतिनिधिका रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताए।

स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरेका केसीले जिल्लाको जलविद्युत्, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल गर्नेमा जोड दिए।

म्याग्दीको प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०३ र प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell